त्रिपुरेश्वरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास
काठमाडौँ, २५ असार । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक युवकले आत्मदाह प्रयास गरेका छन् । प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगुका २५ वर्षीय गणेश नेपाली रहेका छन्।
नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। काठमाडौँ महानगरपालिकाको नगरप्रहरी टोलीले सो क्षेत्रमा जथाभाबी पार्किङ गरिएको भन्दै उनको मोटरसाइकलको पाङ्ग्रामा लक (ह्वील लक) लगाइदिएको थियो। नगरप्रहरीले ह्वील लक लगाएपछि आक्रोशित बनेका नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनालगत्तै त्यहाँ तैनाथ प्रहरी र स्थानीय सर्वसाधारणको सक्रियतामा आगो निभाएर उनलाई उद्धार गरिएको थियो। घाइते नेपालीको हाल वीर अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य एवं खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए।