प्रधानमन्त्री बालेनको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसद्‌मा विपक्षीको विरोध जारी, माफी वा तथ्य पेस गर्न माग

काठमाडौँ, २५ असार । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोध जारी राखेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी बेन्चका सांसदहरूले सिटबाट उभिएर विरोध जनाएका थिए।

विपक्षी सांसदहरूले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले लामो समयदेखि एउटै विषयमा संसद्को ध्यानाकर्षण भइरहेकाले सभालाई मर्यादित बनाउन र समयको बचत गर्न विपक्षी दलका तर्फबाट एक जनाले मात्र बोल्ने प्रस्ताव राखेका थिए। सभामुखको प्रस्तावपछि नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिइएको थियो।

सम्बोधनका क्रममा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति सरकारको आधिकारिक जवाफ माग गरिन्। उनले संसद्‌मा उठेका गम्भीर प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले रोस्ट्रममै उभिएर दिनुपर्ने अडान राखिन्।

गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले सीमा मिचिएको विषयमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले संसद्‌मा भनेका थिए, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”

प्रधानमन्त्रीको सोही अभिव्यक्तिका कारण विपक्षी दलहरूले संसद्‌मा निरन्तर अवरोध र विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले कि त आफ्नो दाबी पुष्टि गर्ने ठोस तथ्य संसद्‌मा पेस गर्नुपर्ने, नत्र राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुर्‍याउने खालको अभिव्यक्ति दिएकाले संसद् र नेपाली जनतासँग माफी माग्नुपर्ने माग राख्दै आएका छन्।