प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मौलापुरमा आन्दोलन, प्रधानमन्त्री बालेनको पुतला दहन
रौतहट, २५ असार । रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त राखिएको विरोधमा स्थानीय बासिन्दा आन्दोलित बनेका छन्। सङ्घीय सरकारले हाकिम नपठाउँदा नगरपालिकाको प्रशासनिक र विकास निर्माणको काम ठप्प भएको भन्दै आक्रोशित स्थानीयले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गरेका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको बजेट कार्यान्वयन र दैनिक सेवा प्रवाह प्रभावित भएको स्थानीयको आरोप छ। प्रदर्शनमा उत्रिएका स्थानीयले प्रधानमन्त्री शाह र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलविरुद्ध चर्का नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दावाद’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने मन्त्री प्रतिभा रावल मुर्दावाद’, ‘अदालतको आदेश कार्यान्वयन गर’ र ‘मौलापुरमा तत्काल हाकिम पठाऊ’ लगायतका नारा लगाएका थिए।