प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान गरिँदै

काठमाडौँ, २५ असार । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। समितिको बिहीबार बसेको बैठकले प्रस्तावित पदाधिकारीहरूविरुद्ध उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्ले प्रस्तावित भएका छन्। समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा कुनै गुनासो वा उजुरी भए पेस गर्न शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ।

समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गर्नेछ। त्यसपछि आगामी साउन ५ गते बस्ने समितिको अर्को बैठकबाट प्राप्त उजुरीहरूको अध्ययन गरी प्रत्यक्ष सुनुवाइ प्रक्रिया अगाडि बढाइने संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले रिक्त पदहरूमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गरिने संवैधानिक व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *