कांग्रेसको उपसभापति र महामन्त्रीको मतगणना सुरु
कांग्रेसको १५औँ महाधिवेशनः
काठमाडौँ, असोज २४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो ।
उपसभापति र महामन्त्री पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै मतगणनामा सहभागी हुने प्रतिनिधिको नाम सङ्कलन गरेर गणना प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि शुक्रबार राति मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना मतदानस्थल राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापति पदमा गगनकुमार थापा झण्डै ९४ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको हो ।
सभापति थापाले आज पार्टी कार्यालयमा सम्बोधन गर्दै निर्वाचनमा पराजित भएका खड्गीसहित सबै उम्मेदवारलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । पार्टीमा धेरै जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उहाँले निर्वाचनमा देखिने जित–हार क्षणिक भए पनि पार्टीप्रतिको जिम्मेवारी सबैको समान रहने बताउनुभयो ।
कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । खुला उपसभापति र महामन्त्री पदको मतपरिणाम भने मतगणना सम्पन्न भएपछि सार्वजनिक गरिनेछ ।
