गण्डकी प्रदेश सरकारबाट बाहिरिँदै एमाले, चारैजना मन्त्रीले आजै राजीनामा दिने

कास्की, ९ भदौ । गण्डकी प्रदेशमा सत्ता समीकरण फेरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मंगलबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले सरकार छाड्ने औपचारिक निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

सरकारबाट बाहिरिएसँगै एमालेले नयाँ सत्ता समीकरणका लागि पहल थाल्ने भएको छ । “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) लगायतका अन्य दलहरूसँग एमालेले तत्काल संवाद सुरु गर्छ,” उपनेता थापा मगरले भन्नुभयो । अन्य प्रदेशहरूमा एमाले र माओवादी केन्द्रबिच सत्ता सहकार्य सुरु भइसकेकाले गण्डकीमा पनि दुई दल मिलेर नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा एमालेका तर्फबाट चारजना मन्त्री सहभागी हुनुहुन्छ:
१. गोविन्दबहादुर नेपाली : भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री
२. भीम कार्की : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
३. यशोदा रिमाल : उद्योग तथा पर्यटन मन्त्री
४. लक्ष्मण पाण्डे : स्वास्थ्य मन्त्री

उहाँहरू गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा मन्त्री नियुक्त हुनुभएको थियो । एमालेको यो निर्णयसँगै गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *