महँगी, कालाबजारी र बिचौलियातन्त्र नियन्त्रण गर्न संसद्‌मा नेकपा सांसद दुलालको माग

काठमाडौँ, ३० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले देशमा बढ्दै गएको महँगी, कालाबजारी र बिचौलियातन्त्रलाई तत्काल नियन्त्रण गरी नागरिकलाई राहत दिन सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर रोस्ट्रममा बोल्दै उनले यस्तो माग राखेका हुन्।

सांसद दुलालले सरकारका सम्पूर्ण गतिविधिहरू जनमुखी हुनुपर्ने धारणा राखे। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य वृद्धि गराउने बिचौलियाहरू सक्रिय रहँदासमेत नियमनकारी निकायहरू निष्क्रिय रहेको आरोप लगाउँदै उनले सरकारले सुशासनको पक्षमा आफ्नो प्रभावकारी र कानुनी जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।

यसैगरी, उनले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टर बाढीका कारण डुबानमा परेको विषय संसद्‌मा उठाउँदै त्यहाँ आश्रित नागरिकहरूको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। विस्थापित बनेका परिवारहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी उनीहरूको गाँस, बास र स्वास्थ्यको उचित व्यवस्था मिलाउन उनले माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *