स्थानीय तहको निर्वाचन अघि ३ हजार बढी कार्यकर्तालाई एकै ठाउँ राखेर प्रशिक्षित गर्दै मैदान पठाउने अभियानमा एमाले
काठमाडौं, असोज २७ । पछिल्लो सयम नेकपा (एमाले)ले आफूलाई थप व्यवस्थित बनाउने र राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानलाई प्राथमिकता दिन थालेको छ । असोज ७ गते स्थायी कमिटी र केन्द्रीय सदस्यमा मनोनयन, अध्यक्षको राजनीतिक प्रतिवेदनसहित २२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न गरेको एमालेले त्यसपछि भने आफूलाई थप सक्रिय र संगठनलाई चलायमान बनाउने अभियान थालेको हो ।
असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा भएको बैठकले पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गर्नेलगायतका काम समेत गरेको थियो । भण्डारीको मनोनयनपछि स्थायी कमिटी बैठक राखेर एमालेलाई थप व्यवस्थित बनाउँदै अघि बढेको एमाले अब राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। एमालेले दसैँ, तिहार लगत्तै आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेलाको तयारी गरेको हो ।
एमालेले त्यसको तयारीका लागि बैठक र भेलाहरुको तयारी थालेको छ । बैठकले राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा केन्द्रित भएर छलफल थालेको छ । स्थानीय तहको निर्वाचन अघि एमालेले गर्ने राष्ट्रिय भेलाले तल्लो तहसम्म एमालेलाई सक्रिय बनाउने एमालेले अपेक्षा गरेको छ । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागेको हो ।
पार्टी सचिव तथा संगठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीकरणमूलक हुनेछ। राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुनेछन्।
भेलामा पार्टीका ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा प्रदेश भूगोलका आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् ।
त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ। पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुने एमालेले जानकारी दिएको छ ।
यसैगरी, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुनेछन्।
