ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित
आइसिसी क्रिकेट विश्वकप लिग
काठमाडौँ, असोज २७ । आइसिसी क्रिकेट विश्वकप लिग २ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ४० ओभरमा १५० रनमै समेटिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रनको योगदान दिनुभयो । उहाँले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो ।
त्यस्तै, करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाउनुभयो । अर्जुन कुमालले ४०, ईशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन जोड्नुभयो । ओमानका साह फैसल, शाकिल अहमद र करण सोनावालेले समान दुई विकेट लिनुभयो ।
२६४ रनको लक्ष्य पछ्याएको ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाउनुभयो । उहाँले ८३ बलमा छ चौका र एक छक्का प्रहार गर्नुभयो । जय ओडेराले २५ तथा जतिन्दर सिंहले १८ रन बनाउनुभयो । ओमानका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिनुभयो ।
यसअघि नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो । लगातार दुई जित निकालेको नेपालले अब शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
