आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नियमनका लागि अस्ट्रेलियाले कानुन बनाउने, प्रतिलिपि अधिकार रक्षामा जोड

एजेन्सी, ३० असार । अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यवस्थित बनाउन, यसको स्पष्ट मार्गदर्शन तय गर्न र सर्जकहरूको प्रतिलिपि अधिकारको रक्षा गर्न नयाँ कानुन बनाउने घोषणा गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सरकारको नीति तथा कार्यक्रम सम्बन्धी सम्बोधनका क्रममा यस्तो घोषणा गरेका हुन्।

प्रधानमन्त्री अल्बनिजका अनुसार एआई प्रविधिका कारण नागरिकमा पैदा भएका चिन्ताहरूलाई सम्बोधन गर्दै यसलाई राष्ट्रिय हित र सुरक्षाको पक्षमा उपयोग गरिनेछ। एआईमाथि सार्वजनिक विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको प्रत्याभूति दिन आगामी वर्ष नयाँ कानुन संसद्‌मा पेस गर्ने सरकारको तयारी छ। यस प्रस्तावित विधेयकबारे अस्ट्रेलियाका विभिन्न राज्य र क्षेत्रका राजनीतिक नेतृत्वसँग व्यापक छलफल गरिनेछ।

अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न अग्रणी कदम चालेको स्मरण गराउँदै प्रधानमन्त्री अल्बनिजले एआईको नियमन गर्ने चुनौती त्योभन्दा निकै ठुलो र जटिल रहेको बताए।

अमेरिकी एआई स्टार्टअप ‘एन्थ्रोपिक’ ले आफ्ना मोडेलहरूको तालिमका लागि प्रतिलिपि अधिकार सम्बन्धी कानुन खुकुलो बनाउन अस्ट्रेलियाली अधिकारीहरूसँग समन्वय गरिरहेको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीको यस्तो घोषणा आएको हो। अस्ट्रेलियाका सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले आफ्नो सिर्जनाको संरक्षण गर्न र विदेशी कम्पनीहरूको दबाबको प्रतिरोध गर्न सरकारसँग माग गर्दै आएका छन्।

यस विषयमा बोल्दै प्रधानमन्त्री अल्बनिजले सम्बन्धित सर्जक वा कलाकारको पूर्वअनुमति र नियन्त्रण बिना उनीहरूको पुस्तक, सङ्गीत, कला वा समाचार सामग्रीलाई एआई तालिमका लागि प्रयोग गर्नु गैरकानुनी हुने स्पष्ट पारे।

सरकारी तथ्याङ्क अनुसार चालु वर्षको मार्च महिनासम्मको त्रैमासिकमा डाटा सेन्टरहरूमा भएको लगानी अस्ट्रेलियाको आर्थिक वृद्धिको मुख्य आधार बनेको थियो। प्रधानमन्त्री अल्बनिजले हालसम्म अस्ट्रेलियाको रोजगार बजारमा एआईका कारण कुनै नकारात्मक प्रभाव नदेखिएको बताए। सरकारले विभिन्न मन्त्रालय र विभागहरूमा एआई नीति कार्यान्वयनको अनुगमन र निरीक्षण गर्न एक समर्पित छुट्टै कार्यालय स्थापना गर्ने तयारीसमेत गरेको उनले जानकारी दिए।