शुक्लाफाँटामा बेपत्ता १४ महिलाको सकुशल उद्धार: निकुञ्जको घना जङ्गलमा यसरी हराएका थिए महिला
कञ्चनपुर, ४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ सङ्कलनका क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला र बेलडाँडीका ३ महिला गरी १७ जना नै सकुशल फेला परेका छन्। २४ घण्टाभन्दा लामो समयको अन्योल र सुरक्षा निकायको बृहत् खोजतलासपछि सबै महिलाहरू सोमबार मध्याह्नसम्म परिवारको सम्पर्कमा आएका हुन्।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारूका अनुसार, आइतबार बिहान ११:०० बजे निकुञ्ज प्रवेश गरेका १४ जना महिलाको समूह सोमबार मध्याह्न १२:१५ बजेतिर आफैँ घर आइपुगेका छन्। जङ्गलको भित्री भागमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएका कारण उनीहरूले रातभर जङ्गलमै बिताउनुपरेको थियो। “महिलाहरूले दिएको जानकारी अनुसार, बाटो नभेटाएपछि उनीहरू रातभर एकै ठाउँमा बसेका थिए र उज्यालो भएपछि दिशा पहिचान गरी गाउँ फर्किएका हुन्,” वडाध्यक्ष थारूले भन्नुभयो।
यसैगरी, आइतबारदेखि नै सम्पर्कविहीन रहेका बेलडाँडी गाउँपालिका–२ का अन्य तीन जना महिलालाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणको टोलीले फेला पारेको छ। सहसेनानी सुमन जिसीको नेतृत्वमा खटिएको टोलीले सोमबार बिहान उनीहरूको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको हो।
महिलाहरू बेपत्ता भएको खबर पाउनासाथ निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको संयुक्त टोलीले ‘सर्च एण्ड रेस्क्यु’ अपरेसन सुरु गरेको थियो। निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सबै महिला सुरक्षित रहेको र कुनै पनि अप्रिय घटना नभएको पुष्टि गर्नुभयो। घटनाको संवेदनशीलतालाई बुझ्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बागफाँटा पुगेर फर्किएका महिलाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।