पछिल्लो २४ घण्टामा देशभर ६६ विपद्का घटना : दुईको मृत्यु, ५२ जिल्ला प्रभावित
काठमाडौँ, साउन ६ । पछिल्लो २४ घण्टाको अवधिमा मुलुकका विभिन्न ५२ जिल्लामा गरी ६६ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाहरूमा परी दुई जनाले ज्यान गुमाएका छन् भने अन्य १३ जना घाइते भएका छन् ।
प्राधिकरणले सोमवार बिहानदेखि मङ्गलवार बिहानसम्मको तथ्याङ्क सार्वजनिक गर्दै विपद्का कारण जनधनको क्षति भएको जनाएको छ । प्राप्त विवरणअनुसार, सबैभन्दा बढी पहिरोका १७ वटा घटना भएका छन् । यस्तै, अविरल वर्षाका १०, सर्पदंशका ८, आगलागीका ७ र बाढीका ६ वटा घटना भएका छन् । यसैगरी, भूकम्पका २ तथा चट्याङ र जनावरको आक्रमणका एक–एक वटा घटना अभिलेख गरिएका छन् ।
यी विपद्का घटनाहरूबाट हालसम्म १० लाख ७४ हजार ५०० रुपियाँबराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्राकृतिक प्रकोप र प्रतिकूल मौसमका कारण देशका सात विभिन्न स्थानमा सडक यातायात समेत अवरुद्ध हुन पुगेको प्राधिकरणले उल्लेख गरेको छ ।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्दै गएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ । सम्भावित जोखिमयुक्त स्थानमा नजान र मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर मात्रै यात्रा तय गर्न प्राधिकरणले सबैको ध्यानाकर्षण गराएको छ ।