मकवानपुरमा राहदानीको अनलाइन फारम दर्ता कार्य स्थगित

काठमाडौँ, साउन ५ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्राविधिक कारण देखाउँदै राहदानीका लागि गरिने अनलाइन फारम इन्ट्री (दर्ता) कार्य केही समयका लागि स्थगित गरेको छ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया सुरु गरेसँगै उत्पन्न प्राविधिक कठिनाइका कारण यो निर्णय लिनुपरेको प्रशासनले जनाएको छ ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज एक सूचना जारी गर्दै विभागको नयाँ प्रणाली हाल प्रारम्भिक चरणमा रहेको र सोही कारण जिल्लाबाट सेवा प्रवाह गर्न समस्या परेको जानकारी दिनुभयो । नयाँ व्यवस्था कार्यान्वयनका क्रममा आएका प्राविधिक जटिलताले गर्दा तत्कालका लागि अनलाइन फारम दर्ताको काम अगाडि बढाउन नसकिएको कार्यालयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राहदानी सम्बन्धी काममा वैकल्पिक व्यवस्था मिलाउन सम्पूर्ण सेवाग्राहीहरूमा आग्रह समेत गरेको छ । राहदानी विभागको प्रणालीमा सुधार आएपछि मात्रै नियमित सेवा पुनः सुचारु हुने बताइएको छ ।