नामिबियालाई १५८ रनको लक्ष्य : कप्तान रोहितले सर्वाधिक ३१ रन बनाए

काठमाडौँ, ५ साउन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी खेलमा नेपालले नामिबियालाई जितका लागि १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्यान्ड्सको उट्रेच स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ६० बल खेल्दै संयमित पारी खेलेका थिए ।

त्यसैगरी, मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५० बलमा दुई चौकाको मद्दतले ३० रन जोडे भने गुल्शन झाले २० रनको योगदान गरे । नेपालको पारीमा करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर छुन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बलर योहानस जोनाथन (जेजे) स्मिथ घातक सिद्ध भए । उनले एक्लैले ६ विकेट लिएका थिए ।
अङ्क तालिकामा हाल नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ भने नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा रहेको छ । यस तालिकामा अमेरिका ४३ अङ्कसहित शीर्ष स्थानमा छ । नामिबियाले अहिले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।