बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
काठमाडौँ, ६ साउन । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङसहित आसपासका अन्य जिल्लाहरूमा समेत महसुस गरिएको थियो । बिहान सबेरै भूकम्पको धक्का आएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए ।
भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सुरक्षा निकायले जनाएको छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा पटक–पटक साना तथा मध्यमस्तरका भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।