नाट्यसम्राट बालकृष्ण समको गजल, विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वरमा ‘जान लाग्यो’ सार्वजनिक
काठमाडौँ, ६ साउन – नाट्यसम्राट बालकृष्ण समद्वारा रचित गजल ‘जान लाग्यो’ विश्वकीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक भएको छ। नेपाली साहित्यका शिखर व्यक्तित्व समको स्मृति दिवस (साउन ६ गते) को अवसर पारेर उक्त ओझेलमा परेको सिर्जनालाई सङ्गीतबद्ध गरी सार्वजनिक गरिएको हो।
सार्वजनिक गजलको सङ्गीत संयोजन (एरेन्ज) साहस शाक्यले गर्नुभएको छ भने रेकर्डिङ एस.बी. मुस्कान र दिल समर्पणले गर्नुभएको हो। प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको यस गजलको रेकर्डिङ ‘एकोस्टिक नेपाल’ स्टुडियोमा गरिएको हो।
गजलको भिडियो निर्देशन हेम प्रभासले गर्नुभएको छ भने छायाङ्कन तथा सम्पादन राजन खरेलले गर्नुभएको हो। भिडियोमा सङ्गीतकार तथा गायक श्रेष्ठ स्वयंको अभिनय रहेको छ भने शृङ्गार सिर्जना श्रेष्ठले गर्नुभएको हो।
“जान लाग्यो नाम जप्ने सास यो, पाउने श्रीकृष्ण दर्शन आस यो” बोलको यस आध्यात्मिक भावको गजललाई संगीतबद्ध रूपमा प्रस्तुत गरिएपछि यसले पुराना स्रष्टाको ओझेलमा परेका रचनालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग गर्ने सङ्गीतकर्मीहरूको विश्वास छ।
नेपाली साहित्यमा नाटक र कविता विधामा अत्यन्तै चर्चित बालकृष्ण समको जन्म वि.सं. १९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो भने उहाँको निधन वि.सं. २०३८ साउन ६ गते भएको थियो। उहाँकै स्मृति तिथिको सन्दर्भ पारेर यो गजल सार्वजनिक गरिएको हो।