आजको मौसम : बागमती, गण्डकी र कोशीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्रमा औसतभन्दा उत्तरतर्फ र पूर्वी क्षेत्रमा औसत स्थानको आसपासमा अवस्थित छ ।
यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो देशभरको मौसममा बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका साथै कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
रातिको मौसम पूर्वानुमान
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ ।
सतर्कता र अनुरोध
वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै, नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्र प्रभावित हुन सक्ने देखिन्छ। विभागले सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न र मौसमसम्बन्धी पछिल्लो जानकारीप्रति अद्यावधिक रहन सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।