कैलालीमा हुलाक सेवाको सान्दर्भिकता कायमै : एक वर्षमा सवा लाखभन्दा बढी सामग्री ओसारपसार
काठमाडौँ, साउन ९ । सञ्चार र सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र इमेलको प्रयोग बढे पनि परम्परागत हुलाक सेवाको महत्त्व अझै कायम रहेको देखिएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गत एक वर्षको अवधिमा एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्रीहरूको ओसारपसार भएको छ ।
हुलाक निर्देशनालय कैलालीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ ) मा कुल एक लाख २७ हजार ६२० वटा हुलाक सामग्री आदानप्रदानभएका छन् । जसमध्ये आयात र निर्याततर्फ समान ६३ हजार ८१० सामग्री रहेका छन् ।
रजिष्ट्री चिठीको हिस्सा सबैभन्दा बढी
निर्देशनालयका सूचना अधिकारी अनिश तामाङका अनुसार कुल कारोबारमध्ये ‘रजिष्ट्री’ चिठीको सङ्ख्या सबैभन्दा उच्च छ । आयात र निर्याततर्फ समान ५२ हजार ६९९ वटा रजिष्ट्री चिठीहरू दर्ता भई सेवा प्रवाह गरिएको छ । यसैगरी, वैदेशिक हुलाक सेवातर्फ ४७० वटा पत्र आदानप्रदान भएका छन् भने २४ घण्टाभित्रै डेलिभरी हुने द्रुत डाँक सेवा (ईएमएस) मार्फत दुई हजार ७२३ सामग्रीको व्यवस्थापन गरिएको छ ।
सञ्चार नियमन र राजस्व संकलन
हुलाक कार्यालयले चिठीपत्र ओसारपसारबाहेक सञ्चार क्षेत्रको नियमन र नवीकरणको कार्यलाई पनि निरन्तरता दिएको छ । गत एक वर्षमा २१ वटा अनलाइन सञ्चार माध्यम, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र र १५ वटा एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ । कार्यालयले टिकट बिक्री तथा अन्य प्रशासनिक शीर्षकबाट रु ६४ लाख ३१ हजार ९०३ राजस्व संकलन गरेको छ ।
सुधार र आधुनिकीकरणको योजना
हुलाक निर्देशक सिद्धराज जोशीले सीमित स्रोत–साधन र जनशक्तिका बाबजुद पनि सेवालाई प्रभावकारी बनाउन पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार हुलाक सेवाको उपयोगिताका बारेमा विद्यालय तहमा सचेतना कक्षा, हुलाक प्रतिनिधिका लागि पुनर्ताजगी तालिम र सूचनाको हकसम्बन्धी अन्तरक्रिया जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
‘सरकारले हुलाक सेवालाई समयसापेक्ष सुधार र आधुनिकीकरण गर्ने नीति लिएको छ ।’ निर्देशक जोशीले भन्नुभयो, ‘सरकारको १०० दिने कार्यसूचीअनुसार सेवा सुधारका कामहरू सुरु भइसकेका छन् । आधुनिक प्रविधि र पर्याप्त स्रोत–साधन उपलब्ध भएमा यो सेवालाई अझ सशक्त र जनमुखी बनाउन सकिन्छ ।’
विद्युतीय सञ्चारका माध्यमले हुलाक सेवा विस्थापित हुने अनुमान गरिए पनि कानुनी र आधिकारिक दस्ताबेजको ओसारपसारमा अझै पनि हुलाक सेवा भरपर्दो माध्यमका रूपमा स्थापित रहेको तथ्याङ्कले पुष्टि गरेको छ ।