आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिँदै, चतुर्मासा व्रत सुरु
काठमाडौँ, ९ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाइँदैछ । सनातन हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घरको मोठमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना (चतुर्मासा व्रत) को शुभारम्भ गर्दैछन् ।
गत जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको तुलसीको बिउबाट तयार भएको बिरुवालाई आज विधिपूर्वक मोठमा सारिन्छ । वैदिक परम्परा अनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि सुरु भएको विशेष पूजा आगामी कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म जारी रहनेछ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास छ । त्यसैले यस दिनलाई ‘हरिशयनी एकादशी’ र यो चार महिनाको अवधिलाई ‘चतुर्मासा’ भनिन्छ ।
भगवान् विष्णु सुत्ने समय भएकाले यस अवधिमा मङ्गल कार्यहरू (विवाह, व्रतबन्ध आदि) गर्ने परम्परा छैन । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाई फलफूल, रोटी वा ढिँडो खाएर व्रत बस्ने गरिन्छ । वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्वका साथ हेरिन्छ ।
हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष नारायण) लगायत देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको ठुलो भीड लागेको छ । भक्तजनहरूले विष्णुको पूजा–अर्चना गर्दै व्रतको सङ्कल्प गरेका छन् ।
धार्मिक रूपमा पवित्र मानिने तुलसी वैज्ञानिक दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ । तुलसीले २४ सै घण्टा अक्सिजन उत्सर्जन गर्ने र यसको हावाले वातावरण शुद्ध पार्ने तथ्य प्रमाणित छ । औषधीय गुणले भरिपूर्ण तुलसीलाई विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । घरको आगनमा तुलसीको मोठ हुनाले विषालु कीटाणु नआउने र वास्तु दोष निवारण हुने जनविश्वास समेत रहेको छ ।
आज मोठमा सारिएको तुलसीलाई चार महिनासम्म नित्य पूजा गरी कार्तिक शुक्ल एकादशीका दिन दामोदरसँग विवाह गरिदिएपछि चतुर्मासा व्रतको समापन (उद्यापन) गरिने वैदिक विधि रहेको छ ।