ज्येष्ठ नागरिकलाई घरमै पुगेर तथ्यमा आधारित स्वास्थ्य सेवा प्रदान गराउँदै कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरू दैनिक १५ वटासम्म औषधि खान बाध्य रहेको र ठूलो संख्यामा स्वास्थ्य जोखिममा रहेको तथ्य सार्वजनिक भएपछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यसलाई गम्भीर सार्वजनिक चासोका रूपमा लिँदै विशेष स्वास्थ्य प्याकेज र घरदैलोमै नर्सिङ सेवा पुर्याउने अभियानको नेतृत्व गर्नुभएको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिकको घर–घरमै पुगेर गरिएको ‘स्वास्थ्य सर्वेक्षण २०८२/८३’ ले देखाएको भयावह चित्रपछि डङ्गोलले महानगरको बुढ्यौली उमेरको सहारा बन्ने योजनालाई तीव्रता दिनुभएको हो ।
महानगरपालिकाले २०८२ माघ १८ देखि २०८३ जेठ ३१ सम्म गरेको सर्वेक्षणले काठमाडौँका ज्येष्ठ नागरिकहरू औषधिमाथि बाँच्नुपर्ने बाध्यतामा रहेको देखाएको छ । सर्वेक्षणका क्रममा एकैजना व्यक्तिले ५ देखि १५ वटासम्म र ९० वर्षका एक वृद्धले त दैनिक २१ प्रकारका औषधिसम्म सेवन गरिरहेको पाइएको छ । यो तथ्यले महानगरभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा ठूलो चुनौती थपेको छ ।
सुनिता डङ्गोलको प्राथमिकताः रोगको पहिचान र तत्काल उपचार
कार्यवाहक प्रमुख डङ्गोलको निर्देशनमा भएको यस सर्वेक्षणले २ हजार ८४७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था वर्गीकरण गरेको छ । जसअनुसार ८० प्रतिशत (२,२८२ जना) मा उच्च रक्तचाप र करिब ४१ प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । विशेषगरी महिलाहरूमा बाथ रोग (५५ प्रतिशत) र पुरुषहरूमा प्रोस्टेट (४५ प्रतिशत) को समस्या प्रमुख रूपमा देखिएपछि महानगरले टोल–टोलमा विशेषज्ञ सेवा लैजाने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख डङ्गोल भन्नुहुन्छ, “तथ्याङ्कले हामीलाई गम्भीर बनाएको छ । ज्येष्ठ नागरिकहरू परिवारसँगै भएर पनि उचित स्याहार र औषधिको सही पहिचान नपाउँदा जोखिममा हुनुहुन्छ । अब महानगरले उहाँहरूलाई अस्पताल धाउनु नपर्ने गरी घरमै स्वास्थ्यकर्मी र परामर्श सेवा उपलब्ध गराउनेछ ।”
वर्गीकरणका आधारमा सेवाः ‘रेड’ देखि ‘ग्रिन’ जोन सम्म
महानगरले ज्येष्ठ नागरिकको अवस्थालाई तीन श्रेणीमा विभाजन गरेको छ ।
१. रेड जोन (१० प्रतिशत): तत्काल अस्पताल भर्ना वा विशेषज्ञ सेवा चाहिने २८५ जना
२. यल्लो जोन (७५ प्रतिशत): परिवारको निगरानीमा रहेका तर दक्ष हेरचाहकर्मी (केयरटेकर) र नियमित फिजियोथेरापी चाहिने २,१३५ जना
३. ग्रिन जोन (१५ प्रतिशत): स्वास्थ्य अवस्था स्थिर रहेका ४२७ जना
यो तथ्याङ्कले ७५ प्रतिशत ज्येष्ठ नागरिकलाई घरमै विशेष हेरचाह आवश्यक रहेको देखाउँछ । जुन कार्यवाहक प्रमुख डङ्गोलको अबको प्रमुख कार्ययोजनामा समेटिएको छ ।
साक्षरताको अभाव र ‘कलर-कोडेड’ औषधिको अवधारणा
सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशत महिलाहरू निरक्षर रहेको र उहाँहरूलाई कुन औषधि कति बेला खाने भन्नेमा अन्योल हुँदा ‘मेडिकल टक्सिसिटी’को जोखिम देखिएको छ । यसलाई सम्बोधन गर्न कार्यवाहक प्रमुख डङ्गोलले निरक्षर ज्येष्ठ नागरिकका लागि रङको सङ्केत (कलर-कोडेड) का आधारमा औषधि पहिचान गर्ने प्रणाली र वडा स्तरमा ‘ज्येष्ठ नागरिक नर्सिङ डेस्क’ स्थापना गर्ने योजना अघि सार्नुभएको छ ।
एक्लोपना र मानसिक स्वास्थ्यमा चासो
सर्वेक्षणले ८ प्रतिशत ज्येष्ठ नागरिकहरू एक्लै वा पेड केयरटेकरको भरमा बसिरहेको र १५ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको देखाएको छ । यो सामाजिक समस्यालाई चिर्न महानगरले मनोवैज्ञानिक परामर्श र पारिवारिक प्रेमका लागि सचेतना कार्यक्रमहरू पनि सँगसँगै लैजाने भएको छ ।
घरदैलोमै पुग्दै ‘मोबाइल हेल्थ युनिट’
सर्वेक्षणकै क्रममा पनि महानगरले स्वास्थ्यकर्मीमार्फत रक्तचाप, सुगर, अक्सिजन जाँच र आधारभूत औषधिहरू घरमै वितरण गरेको थियो । अब यसलाई दिगो बनाउन ‘मोबाइल हेल्थ युनिट’ मार्फत डाक्टर र नर्सहरू घरघरमै पुगेर जाँच गर्ने व्यवस्था मिलाइने कार्यवाहक प्रमुख डङ्गोलले प्रतिबद्धता जनाउनुभएको छ ।
‘ज्येष्ठ नागरिकहरू समाजका अनुभवका खानी हुनुहुन्छ, उहाँहरूलाई बिरामी भएर ओछ्यानमा थलिन दिने छैनौँ ।’ डङ्गोल भन्नुहुन्छ । ‘जसको कोही छैन, उहाँहरूको अभिभावक काठमाडौँ महानगरपालिका बन्नेछ ।’ यो सर्वेक्षणले देखाएको तथ्याङ्क अब महानगरको नीति र बजेटमा प्रतिबिम्बित हुने अपेक्षा गरिएको छ ।