सुनसरी घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

विराटनगर, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि उत्पन्न असहज परिस्थितिका सम्बन्धमा छलफल गर्न आज बुधबार सर्वदलीय बैठक बोलाउनुभएको छ।

प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार दिउँसो साढे १२:०० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वदलीय बैठक बस्न लागेको हो। बैठकमा सुरक्षा निकायका प्रमुखहरू, सुनसरी जिल्लाका प्रदेश सांसदहरू तथा राजनीतिक दलका प्रदेशस्तरीय नेताहरूको सहभागिता रहनेछ।

बैठकमा जिल्लाको शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायमै राख्ने उपायहरू र प्रदेश सरकारको भूमिकासम्बन्धी विषयमा विशेष छलफल हुने बताइएको छ। यसअघि मुख्यमन्त्री कार्कीले एक भिडियो सन्देशमार्फत सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको थियो। उहाँले सुरक्षा निकायहरूसँग समेत समन्वय गरिरहनुभएको छ।

यसैबीच, कोशी प्रदेश सरकारका मन्त्री र सचिवहरूको टोलीले अस्पताल पुगेर आइतबार रातिको झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा प्रदर्शनकारीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।