बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु

बाँके, १३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टिक ट्यांकीभित्र बुधबार बिहान करिब ९:०० बजे काम गर्ने क्रममा उनीहरू फसेका थिए। घटनाको जानकारी पाएलत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जेसिबी (JCB) को सहायताले सेप्टिक ट्यांकी फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको हो।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

मृत फेला परेका तीनै जनाको शव परीक्षण (पोस्टमार्टम) का लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ। ट्यांकीभित्र अक्सिजनको कमी भई निस्सासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *