शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
८०औँ वर्षमा पशुपति मित्र माध्यमिक विद्यालय
काठमाडौँ, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गरी विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न र उपलब्ध अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताउनुभएको छ ।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूपसमेत परिवर्तन भइरहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले राष्ट्रप्रतिको जिम्मेवारीबोध र सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकको भविष्य निर्माण गर्ने प्रमुख आधार शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक बन्ने उल्लेख गर्दै उहाँले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुने बताउनुभयो ।
विद्यार्थीलाई समस्या समाधान गर्न, नवीन सोच विकास गर्न, प्रविधिको उचित सदुपयोग गर्न र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो । बदलिँदो समयका आवश्यकता सम्बोधन गर्न विद्यार्थीमा व्यावहारिक ज्ञान, सिर्जनशीलता र जिम्मेवारीबोध विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
शिक्षा प्रणालीलाई समयसापेक्ष र प्रभावकारी बनाउन सरकार, नीतिनिर्माता तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
