कपिलवस्तुमा पेस्तोल देखाएर धम्क्याउँदै हिँड्ने तीन जना पक्राउ, हतियार र मोटरसाइकल बरामद

कपिलवस्तु, २४ साउन । कपिलवस्तुमा स्थानीय सर्वसाधारणलाई हतियार देखाई डर, धम्की दिँदै हिँड्ने तीन जनालाई प्रहरीले एक थान पेस्तोलसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४, जगदीशपुर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन्।

बहादुरगञ्ज क्षेत्रका स्थानीय बासिन्दाहरूलाई त्रसित बनाउँदै पेस्तोल बोकेर हिँडिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र प्रयोग गरिएको लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।