माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले १० घण्टा जलाशय सफा गरिँदै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
दोलखा, २४ साउन । दोलखाको बिगु गाउँपालिकामा अवस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आइतबार १० घण्टाका लागि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरी जलाशय सफा गर्न सुरु गरेको छ।
अविरल वर्षा र बाढीका कारण माथिल्लो तटीय क्षेत्रबाट बगेर आएको ढुङ्गा, बालुवा र हिलो थुप्रिएर जलाशय भरिएपछि प्राविधिक समस्या उत्पन्न हुन नदिन विद्युत् उत्पादन बन्द गरिएको हो। आयोजनाका निमित्त प्रबन्धक पूर्णगोपाल रञ्जितका अनुसार आइतबार बिहानैदेखि जलाशयका दुईवटा ठूला ढोका खोलेर पिँधमा बसेको लेदो बगाएर फाल्ने ‘रिजर्भ्वायर फ्लसिङ’ को कार्य भइरहेको छ। आज साँझ ६:०० बजेपछि मात्र पुनः विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको लक्ष्य छ।
बाँधस्थलबाट ठूलो परिमाणमा पानी छाडिने भएकाले तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव एक्कासि बढ्न सक्ने भन्दै आयोजनाले सार्वजनिक सूचना जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। निमित्त प्रबन्धक रञ्जितले दोलखादेखि सिन्धुली र रामेछापसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई नदी किनार आसपास नजान, माछा मार्न नपस्न, नुहाउन वा कपडा धुन नजान तथा वस्तुभाउ नलैजान विशेष अनुरोध गर्नुभएको छ।
मनसुनको सुरुवातमै आएको भीषण बाढीका कारण जलाशयमा गेग्रान जम्मा हुने समस्या समय अगावै बढेको हो। समयमै जलाशय सफा नगरिए बालुवा टर्बाइनसम्म पुगेर मेसिनरी सामानमा ठूलो क्षति पुर्याउन सक्ने प्राविधिकहरूको भनाइ छ।
यस १० घण्टाको विद्युत् उत्पादन बन्दले राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुने विद्युत् परिमाणमा केही कमी आए पनि वैकल्पिक व्यवस्थापनमार्फत विद्युत् आपूर्तिलाई सन्तुलनमा राखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। साँझ जलाशय सफा भएपछि पानी भर्न सुरु गरिने र ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन पुनः थालिने आयोजनाले जनाएको छ।