सप्तरीमा बाढीको वितण्डा : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
सप्तरी, ११ असोज । लगातारको वर्षासँगै आएको बाढीका कारण सप्तरीका दुई स्थानीय तहका करिब ५०० घर डुबानमा परेका छन्। बाढीबाट दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पसेपछि ठूलो संख्यामा घर डुबानमा परेका हुन्।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेको स्थानीय तहले जनाएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार शुक्रबार राति सप्तकोशी नदीको जलसतह बढेपछि बस्तीमा पानी पसेको हो।
बाढी प्रभावितका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको नगरप्रमुख माझीले बताउनुभयो। पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।
बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन प्रभावित बनेको छ भने स्थानीय तहले राहत तथा उद्धारका लागि आवश्यक तयारी अघि बढाएको छ।
