चितवनमा २४ घण्टामै २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी
काठमाडौं, ११ असोज। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी कल्याणपुर वर्षा मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको हो। उक्त मापन केन्द्र आसपासका क्षेत्रमा समेत २०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।
यस्तै, नवलपरासीको बर्दघाटमा २०७ मिलिमिटर, चितवनको मेघौलीमा २०२.८ मिलिमिटर र तनहुँको अत्रौलीटारमा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ।
मौसम विभागका अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ। १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा भनिन्छ।
मधेश, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको विभागले जनाएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।
महाशाखाका अनुसार आजदेखि मौसममा क्रमिक सुधार आउने पूर्वानुमान छ। कोशी र मधेश प्रदेशमा आकाश खुल्दै जाने तथा काठमाडौं उपत्यकामा पनि मौसममा उल्लेख्य सुधार हुने देखिएको छ।
यद्यपि पछिल्लो भारी वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढेको र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
