अविरल वर्षासँगै मुलुकभरीको अपडेटः उपल्लो मुस्ताङमा हिमपात, गुल्मीको रेसुङ्गाको पक्की सडक भासियो, अन्त के–के भयो ?
काठमाडौं, ११ असोज । निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुलुकभरीकै जनजिवन अस्तव्यस्त बनेको छ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ ।
कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा परेका छन् । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का बस्ती डुबानमा परेका छन् । गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ । चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
निरन्तरको अविरल वर्षाका कारण मकवानपुरमा विद्युतको पोल ढल्दा सडक अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिर्पाली चोक नजिकै धरान–चतरा सडक खण्डमा बिजुलीका पोलहरू ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा सडक भासिएको छ । त्रिशूली नदीको कटानका कारण सिमलतालमा सडकको करिब आधा भाग भासिएको हो । कुलेखानी जलाशयमा पानीको सतह आज बिहान ५ बजेसम्म १५२५.११ मिटर मापन गरिएको छ। यस जलाशयमा १५३० मिटर सम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेको छ । सतह बढ्दै जाने हो भने खतराको संकेत देखिने छ ।
पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् । पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।
पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले जनकारी दिएको छ । अविरल वर्षाका कारण आइतबार बिहान गुल्मीको रेसुङ्गा विमानस्थल जाने देउराली– सिमीचौर पक्की सडक भासिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपातपछि सेताम्मे भएको छ । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।
