डीएलए केन्द्रीय महासचिवमा रविन्द्र प्रधानको उम्मेदवारी: ‘सशक्त नेतृत्वका लागि अत्याधिक मतले जिताउन’ अपील
भक्तपुर, ३० साउन । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को आसन्न केन्द्रीय निर्वाचनमा भक्तपुरका प्रतिष्ठित एवं सक्रिय अधिवक्ता रविन्द्र प्रधानले केन्द्रीय महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कानुन व्यवसायसँगै सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका क्षेत्रमा प्रखर रूपमा उभिँदै आउनुभएका प्रधानलाई अत्याधिक मतका साथ विजयी गराउन उहाँका शुभेच्छुक एवं समर्थकहरूले अपील गरेका छन् ।
अधिवक्ता प्रधान आफ्नो व्यावसायिक जीवनमा वकालतसँगै समाजमा व्याप्त अन्याय, विभेद र भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाउने योद्धाका रूपमा चिनिनुहुन्छ । विधिको शासनलाई बलियो बनाउन र पीडित तथा कमजोर वर्गको न्यायका लागि उहाँले निर्वाह गर्दै आउनुभएको भूमिकालाई कानुन व्यवसायीहरूले उच्च मूल्याङ्कन गरेका छन् । “कानुन व्यवसायीको हकहित र पेसागत सुरक्षाका लागि प्रधानको नेतृत्व डीएलएमा अपरिहार्य देखिएको छ ।”
प्रधानको उम्मेदवारीले देशभरका प्रजातन्त्रवादी कानुन व्यवसायीहरूमा नयाँ उत्साह थपेको दाबी गरिएको छ । सङ्गठनलाई थप पारदर्शी, सशक्त र पूर्णतः लोकतान्त्रिक बनाउँदै कानुन व्यवसायीहरूको पेसागत मर्यादा र सम्मान अभिवृद्धि गर्ने एजेन्डालाई उहाँले प्राथमिकतामा राख्नुभएको छ ।
समाजमा हुने हरेक बेथितिमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आवश्यक पर्दा सडकसम्म पुगेर सङ्घर्ष गर्ने प्रधानको जुझारु शैलीले उहाँलाई अन्य उम्मेदवारभन्दा फरक र बलियो बनाएको विश्लेषण गरिएको छ ।
डीएलए जस्तो गरिमामय संस्थाको गरिमालाई अझ उँचो बनाउन अनुभवी र सामाजिक सरोकार बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उहाँका शुभेच्छुकहरूले प्रधानलाई महासचिवमा निर्वाचित गराउन सम्पूर्ण मतदाताहरूलाई विशेष आग्रह गरेका छन् । आगामी निर्वाचनलाई केवल पदको प्रतिस्पर्धाका रूपमा मात्र नभई डीएलएको भविष्य र कानुनी क्षेत्रको सुधारका लागि एउटा महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । अधिवक्ता रविन्द्र प्रधानको नेतृत्वमा डीएलएले राष्ट्रिय मुद्दाहरूमा समेत प्रभावकारी भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।