सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय नागरिक म्याग्दीमा पक्राउ
म्याग्दी, ५ भदौ । म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुनका गरगहना सफा गरिदिने बहानामा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, खगरिया जिल्लाका चार जना नागरिक रहेका छन् ।
पक्राउ पर्नेहरूमा २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीत कुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार उनीहरूले गाउँघरमा पुगेर सुनका गरगहना टल्काइदिने प्रलोभन देखाई रासायनिक पदार्थको प्रयोग गरेर सुनको तौल घटाउने र ठगी गर्ने गरेका थिए ।
स्थानीय बासिन्दाको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई दरबाङ र बाबियाचौर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनीहरूका विरुद्ध ठगी मुद्दा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।
पछिल्लो समय गाउँगाउँमा पुगेर विभिन्न प्रलोभनमा पारी गरगहना सफा गर्ने नाममा सुन चोरी गर्ने तथा तौल घटाउने गिरोह सक्रिय हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेको छ ।