सम्पदा संरक्षणमा महानगरको तल्लीन : कार्यवाहक नगरप्रमुख डङ्गोलद्वारा नित्यनाथ मन्दिर उद्घाटन

काठमाडौँ, भदौ ६ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले काठमाडौँको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक पहिचान जोगाउन महानगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका ८ जयवागेश्वरीस्थित नवालीटोलमा पुनर्निर्माण सम्पन्न भएको लिच्छविकालीन नित्यनाथ मन्दिरको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यवाहक नगरप्रमुख डङ्गोलले महानगर क्षेत्रभित्रका सांस्कृतिक धरोहरको संरक्षण र सम्बर्द्धन गरी आगामी पुस्तालाई हस्तान्तरण गर्ने कार्यमा महानगर सक्रियताका साथ लागेको उल्लेख गर्नुभयो ।

सो अवसरमा उहाँले महानगरपालिकाले हालसम्म ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिसकेको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरूको पुनर्निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो संस्कार र संस्कृति नै हाम्रो पहिचान हो, यसको जगेर्नाका लागि महानगरले कुनै कसर बाँकी राख्ने छैन ।”

बाजागाजाका देवताका रूपमा पुजिने नित्यनाथ मन्दिर विसं १९९० को भूकम्पले क्षतिग्रस्त भएपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो । २०७२ को भूकम्पले पुनः क्षति पुर्‍याएपछि अहिले यसलाई मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको हो ।

कार्यक्रममा महानगरपालिका वडा नं ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले नित्यनाथ मन्दिरको पुनर्निर्माणले मौलिक बाजागाजा र सांस्कृतिक संस्कारलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न सहज वातावरण बनेको बताउनुभयो । उहाँले पशुपति क्षेत्रको ऐतिहासिक ग्वल नवाली टोलको प्राचीन जात्रा र संस्कृतिको जगेर्ना गर्न यो मन्दिरको विशेष महत्त्व रहेको उल्लेख गर्दै टोलमा रहेको पुस्तकालयको पनि चाँडै पुनर्निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले स्थानीय सरकारले मौलिक संस्कृति संरक्षणका लागि चालेका कदमहरूले मूर्त रूप लिँदै गएको बताउनुभयो । ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले आगामी योमरी पून्हिका दिन जयवागेश्वरीबाट विशेष शोभायात्रा सुरु गरिने जानकारी दिनुभयो ।

स्थानीय बाजा खलका प्रतिनिधिहरूले मन्दिर पुनर्निर्माणले लोपोन्मुख दाफा भजन र परम्परागत बाजा संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा मन्दिर पुनर्निर्माणमा प्राविधिक सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगर सम्पदा विभागकी प्रमुख कुमारी राई र नेतृत्वदायी भूमिका खेल्ने वडाध्यक्ष सङ्गतलाई कार्यवाहक नगरप्रमुख डङ्गोलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा मौलिक बाजा र नृत्य प्रशिक्षण पुरा गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *