भक्तपुर विकास सहयोग सङ्घको ३५औँ स्थापना दिवस सम्पन्न; वरिष्ठ सीमाविद् श्रेष्ठद्वारा ‘खोपृङ’ सार्वजनिक
काठमाडौँ, ६ भदौ । भक्तपुर विकास सहयोग सङ्घको ३५औँ स्थापना दिवस तथा ३२औँ वार्षिक साधारण सभा आज काठमाडौँको बुद्धनगरस्थित डि.डि.आई बैङ्क्वेटमा भव्यताका साथ सम्पन्न भएको छ । सङ्घका सल्लाहकार प्रा. कोमल बदन मल्लको सभापतित्वमा आयोजित सो कार्यक्रमको उद्घाटन नेपालको ‘चुच्चे नक्सा’ का प्रवर्तक एवं वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सङ्घको बौद्धिक सम्पत्तिका रूपमा रहेको ‘खोपृङ’ स्मारिकाको २८औँ अङ्क सार्वजनिक गर्नुभयो । सो अवसरमा सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले संस्थाले ३५ वर्षको यात्रामा भक्तपुरको विकास र संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्दै आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको एक विशेष क्षणका रूपमा सङ्घका वरिष्ठ सल्लाहकार प्रा.डा. सर्वज्ञ भक्त मल्ल र प्रा. कोमल बदन मल्लले सङ्घलाई जग्गाको लालपूर्जा हस्तान्तरण गर्नुभएको थियो, जसलाई अध्यक्ष जोशीले सप्रेम ग्रहण गर्नुभयो । सोही अवसरमा प्रा.डा. सर्वज्ञ भक्त मल्ल र प्रा. कोमल बदन मल्ललाई ‘खोपृङ रत्न सम्मान–२०८३’ बाट विभूषित गरियो ।
यसैगरी, समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरू डा. रविन्द्र भक्त तिमला (निवर्तमान निमित्त कार्यकारी निर्देशक, गङ्गालाल हृदय केन्द्र), सौभाग्य मल्ल (महानिर्देशक, पुरातत्व विभाग), नारायण मान बनमाला, यश मुनकर्मी र भानुभक्त शिवाचार्यलाई ‘खोपृङ विशेष सम्मान’ प्रदान गरिएको थियो ।
शैक्षिक सहयोग र सामाजिक कार्य
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘खोपृङ मुठ्ठीदान आंशिक शैक्षिक सहयोग कार्यक्रम’ मार्फत जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । गङ्गालाल हृदय केन्द्रमा विश्रामस्थल तथा शुद्ध खानेपानी परियोजनामा सहयोग गर्ने सहयोगी हातहरू र सञ्चार माध्यमहरूलाई समेत कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
साधारण सभाको बन्द सत्रमा सङ्घको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उपस्थित सदस्यहरूबीच भएको घनीभूत छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएका छन् ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्यहरू दिपेन्द्र श्रेष्ठ र हरिप्रभा श्रेष्ठ खड्गी लगायत विभिन्न माननीय सांसदहरू र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा कुमारी नृत्य लगायतका सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो ।
सङ्घका ३५औँ स्थापना दिवसका संयोजक किरण राज सुवेदीले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो भने सविता राजोपाध्यायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।