गोरखाको जङ्गलमा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक फेला

गोरखा, ६ भदौ । गोरखाको आरुघाट गाउँपालिका–६ स्थित चिहानडाँडाको जङ्गलमा लुकाइराखिएको अवस्थामा पाँच थान भरुवा बन्दुक फेला परेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको नियमित गस्ती टोलीले आज अपराह्न करिब ५ बजे ती बन्दुकहरू बरामद गरेको हो ।

प्रहरी निरीक्षक अनील श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जङ्गलभित्र सल्लाको हाँगाले छोपेर राखिएको अवस्थामा ती हतियारहरू फेला पारेको प्रहरीले जनाएको छ । बरामद गरिएका पाँच थान हतियारमध्ये एक थान थोत्रो भएर भाँचिएको अवस्थामा रहेको छ । बाँकी चार थान बन्दुकमा पनि लामो समयदेखि जङ्गलमा लुकाइछिपाइ राखिएका कारण खिया लागेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ती बन्दुकहरू कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय प्रहरीले अवैध हतियार नियन्त्रणका लागि गस्ती र निगरानी बढाएको छ ।