बागलुङको सरस्वती माविमा १२ कोठे भवन निर्माण, कक्षाकोठाको अभाव हट्यो
काठमाडौँ, भदौ ७ । लामो समयदेखि कक्षाकोठाको अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका ९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक सहयोगमा विद्यालयमा १२ वटा नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण सम्पन्न भएका छन् ।
कुल रु २ करोड ६८ लाखको लागतमा आठ महिनाभित्रै सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो । नयाँ भवन निर्माण भएसँगै विद्यालयको पठनपाठनमा सहजता आएको छ। उक्त निर्माण कार्यमा कुल लागतको १० प्रतिशत स्थानीय बासिन्दाले श्रमदान गरेका थिए ।
भर्याङमुनि बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य
दुर्गम क्षेत्रमा अवस्थित यस विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन्। पर्याप्त पूर्वाधार नहुँदा यसअघि एउटै कक्षामा ६० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यता थियो। कक्षाकोठा अभावकै कारण कक्षा ५, ७ र ८ का विद्यार्थीलाई दुई समूहमा विभाजन गरी ट्रसको छाप्रो र पक्की भवनको भर्याङमुनिसमेत राखेर पढाउनुपरेको प्रधानाध्यापक थमप्रकाश जैसीले जानकारी दिनुभयो ।
“बालविकासदेखि कक्षा १० सम्म सञ्चालित विद्यालयमा पहिले ११ वटा मात्र कोठा उपलब्ध थिए,” प्रधानाध्यापक जैसीले भन्नुभयो, “अहिले १२ वटा नयाँ कोठा थपिएपछि विद्यार्थीलाई खुल्ला र सहज वातावरणमा पढाउन सम्भव भएको छ। अब हामीले प्रयोगशाला र पुस्तकालयका लागि पनि पर्याप्त स्थान छुट्याउन सकेका छौँ ।”
यसअघि साँघुरो स्थानमा कष्टकर रूपमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षकहरू नयाँ र सुविधायुक्त भवन निर्माण भएपछि उत्साहित भएका छन् । यो पूर्वाधार विकासले यस क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।