कार्यवाहक प्रमुख डंगोलबाट जीवित देवता गणेश र भैरवका लागि स्थायी आसन अर्पण

काठमाडौँ,  असोज ६ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा जीवित देवता श्री गणेश र श्री भैरवका लागि स्थायी आसन निर्माण गरी आज विधिपूर्वक प्रतिस्थापन गरिएको छ । कार्यवाहक प्रमुख डंगोलले तःवहालमा आयोजित तान्त्रिक पूजामा सहभागी भई श्री गणेश र श्री भैरवका अभिभावकलाई आसन अर्पण गर्नुभएको हो ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको खर्चमा निर्माण गरिएका आसनलाई तान्त्रिक विधिअनुसार प्रतिस्थापन गरी सम्बन्धित निवासमा लगेर स्थिर पूजा गरिएको हो । श्री गणेशको आसन उहाँको निवास वडा नं. १८ नरदेवी र श्री भैरवको आसन कोहिटी बहालमा लगेर स्थिर पूजा गरिएको छ ।

आसन अर्पणपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले यस वर्षको येँयाः (इन्द्रजात्रा) व्यवस्थापनका दृष्टिले विशेष हुने बताउनुभयो । उहाँले जीवित देवताका घरमा यसअघि आसनको व्यवस्था नभएकाले यस वर्षदेखि श्री गणेश र श्री भैरवको आसनमा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

“श्रीहरुको घरमा येँयाःका अवसरमा अब श्री गणेश र श्री भैरवको पनि आसनमा पूजा हुनेछ । यसअघि श्रीहरुको घरमा उहाँहरुको आसन थिएन,” उहाँले भन्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले इन्द्रजात्राका अन्य व्यवस्थापनका कामसमेत अघि बढाइएको जानकारी दिनुभयो । करिब २५ वर्षदेखि काठमाडौँवासीले बजाउन छाडेको म्वाःली बाजा यस वर्ष बजाउने तयारी गरिएको, कुमारी घरको छाना जीर्णोद्धार सम्पन्न गरिएको तथा दाँगीका दिन चन्द्रागिरिस्थित इन्द्रदह जाने श्रद्धालुका लागि निःशुल्क यातायातको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले जात्रा तथा पर्वको व्यवस्थापनमा आफ्नो अभिभावकीय भूमिका क्रमशः बढाउँदै लगेको उल्लेख गर्दै उहाँले काठमाडौँको मौलिक संस्कृति, परम्परा र जात्राको संरक्षण तथा निरन्तरताका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।

तलेजुका मूल पुजारी उद्धवमान कर्माचार्यका अनुसार आसन प्रतिस्थापनका लागि तान्त्रिक विधिबाट पूजा गरिएको हो । उक्त विधिबाट पूजा सम्पन्न गरी आसन सम्बन्धित स्थानमा राखेपछि स्थिर पूजा गरिन्छ । स्थिर पूजा सम्पन्न भइसकेपछि आसनलाई चलाउन वा अन्यत्र सार्न नहुने र श्रीको पूजा यही आसनमा राखेर गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

चाँपको काठ, पित्तल र कपडाबाट निर्माण गरिएका आसन करिब तीन फिट चौडाइ, साढे तीन फिट लम्बाइ र साढे पाँच फिट उचाइका छन् । वर्तमान तथा भूतपूर्व जीवित श्री गणेश श्री भैरव संरक्षण समितिका सदस्य एवं पूर्व श्री भैरव बाल पुरुषोत्तम शाक्यका अनुसार आसनमा काठबाट फूलबुट्टा तथा कलशका आकृति कुँदिएका छन् । आसनको माथिल्लो भागमा पञ्चनाग तथा दायाँबायाँ द्वारपालका रूपमा दुई सिंहका आकृति राखिएका छन् ।

यसै अवसरमा सरकारका तर्फबाट श्री गणेश र श्री भैरवलाई येँयाः जात्रामा सहभागिताका लागि निमन्त्रणा पूजा अर्पणसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *