तनहुँमा एमसिएअन्तर्गत ४० किलोमिटर प्रसारण लाइन निर्माण अघि बढ्दै

दमौली, ६ असोज । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको छ । रातमाटादेखि न्यु दमौलीसम्म ४०.०२ किलोमिटर प्रसारण लाइन निर्माणका लागि १९९ वटा टावर बनाइने भएको छ ।

प्रसारण लाइन आयोजनाको रुट लट–२ अन्तर्गत पर्ने उक्त खण्ड तनहुँका पाँच पालिकाका १८ वडामा फैलिएको छ । एमसिए नेपालका तनहुँ सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको निर्माण व्यवसायी एन्जिलक स्कीपर जेभी इन्डिया रहेको छ ।

तनहुँ खण्डमा निर्माण हुने १९९ टावरमध्ये १०५ वटा निजी र ७१ वटा सार्वजनिक जग्गामा निर्माण हुनेछन् । प्राविधिक कारणले २३ वटा टावरको निर्माण कार्य भने हाल रोकिएको छ ।

रोकिएका टावरका लागि आवश्यक जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम अधिग्रहण प्रक्रिया अघि बढाइएको ढकालले जानकारी दिनुभयो ।

आयोजनाबाट तनहुँमा २४१ घरधुरी प्रभावित हुने भएका छन् । टावर निर्माणका क्रममा २८४ निजी कित्ता प्रभावित हुनेछन् भने आयोजनाका लागि १२६.८६ रोपनी निजी जग्गा प्राप्त गर्नुपर्नेछ ।

प्रभावित जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम पनि अघि बढिरहेको छ । हालसम्म निर्णय भएको कुल मुआब्जा तथा क्षतिपूर्ति रकम रु. १७ करोड ६ लाख ८९ रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म १७२ घरधुरीलाई रु. १० करोड ३३ लाख ८८ हजार ७४४ मुआब्जा तथा क्षतिपूर्तिबापत वितरण गरिएको ढकालले बताउनुभयो ।

एमसिए नेपालले बाँकी जग्गा अधिग्रहण गरी मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रसारण लाइनका तारमुनि पर्ने जग्गा अर्थात् मार्गाधिकारको क्षतिपूर्ति निर्धारण तथा वितरण प्रक्रिया पनि अघि बढाइने भएको छ ।

प्रसारण लाइन निर्माणपछि तारमुनिको जग्गामा पर्ने असरका आधारमा सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । आवश्यक प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षमै मार्गाधिकारको क्षतिपूर्ति निर्धारण तथा वितरण गर्ने लक्ष्य रहेको ढकालले जानकारी दिनुभयो ।

एमसिएअन्तर्गत निर्माण हुने प्रसारण लाइनको कुल लम्बाइ ७२.४५ किलोमिटर छ । विद्युत् उत्पादन आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो प्रसारण लाइन आयोजना महत्वपूर्ण मानिएको छ ।

तनहुँ खण्डमा जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरण र रोकिएका टावरका लागि आवश्यक जग्गा व्यवस्थापनको काम अघि बढेसँगै प्रसारण लाइन निर्माणले थप गति लिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *