बाँके राप्तीसोनारीको विपद् प्रतिकार्यमा तदारुकता
बाँके, ८ भदौ । बाढी, डुबान र कटानको उच्च जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिकाले सम्भावित विपद्को सामना गर्न ‘प्रतिकार्य योजना’ सहित विशेष तयारी सुरु गरेको छ । राप्ती नदी र विभिन्न खहरे खोलाका कारण हरेक वर्ष मानव बस्ती र खेतीयोग्य जमिनमा हुने क्षति न्यूनीकरणका लागि गाउँपालिकाले पूर्वतयारीलाई तीव्रता दिएको हो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार यस वर्षका लागि एकीकृत विपद् प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । “हामीले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा तयारी अवस्थामा राखेका छौँ,” अध्यक्ष पौडेलले भन्नुभयो, “बाढी आएको अवस्थामा प्रभावितको तत्काल उद्धार, स्वास्थ्योपचार, खाद्यान्न व्यवस्थापन र मनोसामाजिक परामर्शका लागि टोलीहरू तयारी अवस्थामा छन् ।”
विपद्का बेला नागरिकलाई सुरक्षित राख्न गाउँपालिकामा हाल पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा निर्माणको अन्तिम चरणमा रहेका छन् । यी आश्रयस्थलहरूमा करिब दुई हजार जनासम्मलाई व्यवस्थित रूपमा राख्न सकिने क्षमता रहेको गाउँपालिकाले जनाएको छ ।
राप्तीसोनारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ कार्यविधि कार्यान्वयन गर्दै नेपालमै पहिलोपटक ‘बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास’ सञ्चालन गरेको छ । स्थानीय तहको स्तरमा गरिएको यो नै पहिलो नमूना अभ्यास भएको दाबी गरिएको छ ।
सेभ द चिल्ड्रेन र सामाजिक विकास मञ्चको साझेदारीमा गरिएको उक्त अभ्यासमा बाढीमा परेकाहरूको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणको प्रयोगात्मक प्रदर्शनी गरिएको थियो ।
परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायका अनुसार यो अभ्यासले बाढी आएपछि गरिने प्रतिकार्यको वास्तविक क्षमता परीक्षण गर्न मद्दत पुगेको छ । अभ्यासमा सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी र सामाजिक सङ्घसंस्थाबीचको समन्वयलाई प्राथमिकता दिइएको थियो ।
राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार चौधरीले विपद् आएपछि मात्रै जुट्नुभन्दा पहिले नै समुदायलाई मानसिक र भौतिक रूपमा तयार बनाउन यस्ता अभ्यासहरू प्रभावकारी हुने बताउनुभयो । यस प्रयासले सम्भावित धनजनको क्षति न्यूनीकरणमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।