टप एन्ड टी-२० सिरिज : होबार्ट हुरिकेन्समाथि नेपाल ‘ए’ को सानदार जित

काठमाडौँ,  भदौ ८ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपाल ‘ए’ टोलीले आफ्नो पहिलो जित दर्ता गरेको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो ।

यसअघि खेलिएका सुरुआती दुई खेलमा पराजय भोगेको नेपालका लागि यो पहिलो सफलता हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा समेटियो । होबार्टका लागि नितेश सामुएलले ३७ र टिम वार्डले २३ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

होबार्टलाई कम स्कोरमा रोक्न नेपालका नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै, शाहब आलम र पवन सर्राफले समान २-२ विकेट झारे भने विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो । नेपालको ब्याटिङमा कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । यस्तै, मायन यादवले ३१, कप्तान अनिल साहले २८, लोकेश बमले २० र तृत राज दासले १० रन जोडे ।

सिरिजमा पुनरागमन गर्दै नेपालले उत्कृष्ट बलिङ र ब्याटिङको समन्वयका साथ जित हात पारेको हो । नेपालले अब सिरिजका आगामी खेलहरूमा आफ्नो लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।