आँबुखैरेनीमा ४५ रोपनी जग्गामा सयपत्री फूलखेती
पहिलो टिपाइमै ५० किलो फूलको माग, व्यावसायिक खेतीले महिलालाई आयआर्जनको बाटो देखायो
दमौली (तनहुँ), २६ असोज । दसैंको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेंलपुर बनेका छन्। तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भइसकेको छ। यस फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ।
सामूहिक रूपमा फूलखेती गर्दै आएका महिलाहरू यतिबेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा थप उत्साह थपिएको छ। स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलाहरूलाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिलाहरू शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका हुन्। पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उनले बताइन्।
“दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौं,” गुरुङले भनिन्।
सामूहिक प्रयासले ल्यायो आर्थिक आत्मनिर्भरता
महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्यले सुरु गरिएको यो फूलखेतीले आर्थिक आत्मनिर्भरतामा उल्लेखनीय सहयोग पुर्याएको गुरुङको भनाइ छ। सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव आदानप्रदान गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको उनले बताइन्।
फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सकेमा महिलाहरूको आम्दानी थप विस्तार गर्न सकिने गुरुङको भनाइ छ। स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको उनले जनाइन्। उनका अनुसार हाल फूल प्रतिकिलो रु ४०० सम्ममा बिक्री हुने गरेको छ।
बजारमा समस्या छैन : कृषि शाखा
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ। महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आयआर्जनको अवसर सृजना गरेको उनले बताए।
“फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ। यहाँ उत्पादित फूलको बजारमा समस्या छैन,” केसीले भने।
स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएसँगै खेतीलाई थप व्यवस्थित बनाउँदै लैजान सकिने उनको भनाइ छ। महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर पनि विस्तार हुँदै गएको केसीले बताए।
