नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादसैँ

काठमाडौँ,  असोज २६ ।  बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । यस अवसरमा देशभरका शक्तिपीठ तथा घरघरमा देवीको पूजा आराधना गर्ने भक्तजनको चहलपहल बढेको छ ।

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार दसैँ घर तथा पूजा कोठामा घटस्थापना गरी जौँको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आह्वान गरी विधिपूर्वक पूजा गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने धार्मिक परम्परा छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको विशेष आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

संसारका समग्र प्राणीलाई सच्चिदानन्दस्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनारत रहने मान्यताका आधारमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ। राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

नवरात्रका नौ दिन पूजा आराधना गरी चढाइएको प्रसाद तथा जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *