रुससँगको इन्धन सम्झौताले बढायो तनाव : ट्रम्पद्वारा जेलेन्स्कीको राजीनामाको संकेत, युरोपमा खैलाबैला
रुसी डिजेलमाथिको प्रतिबन्ध फुकुवा गर्ने अमेरिकी निर्णयले वासिङ्टन-किभ सम्बन्धमा तीव्र दरार
वासिङ्टन/किभ । अमेरिका र रुसबीच भएको पछिल्लो डिजेल सम्झौतालाई लिएर ह्वाइट हाउस र युक्रेनबीचको कूटनीतिक तनाव उत्कर्षमा पुगेको छ। रुसी इन्धनमाथिको प्रतिबन्ध फुकुवा गर्ने अमेरिकी निर्णयको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कडा शब्दमा भर्त्सना गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा “नयाँ नेतृत्व” आउनुपर्ने अभिव्यक्ति दिएका छन्। ट्रम्पको यो कडा टिप्पणीसँगै मस्को, वासिङ्टन र युरोपेली युनियनबीचको कूटनीतिक ध्रुवीकरण अझ जटिल बनेको छ।
ह्वाइट हाउसबाट ट्रम्पको कडा प्रहार
शनिबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्र (रिफाइनरी)हरूमा निरन्तर आक्रमण गरेर विश्वभर इन्धनको संकट र समस्या सिर्जना गरेको आरोप लगाए।
“उहाँ (जेलेन्स्की) ले विश्वका लागि समस्या मात्र खडा गर्न खोजिरहनुभएको छ। उहाँले रुसी रिफाइनरीहरूमाथिको आक्रमण तत्काल रोक्नुपर्छ। युक्रेनले अब रुससँग सम्झौता गर्न सक्ने नयाँ नेता चयन गर्ने समय आएको छ,” ट्रम्पले भने।
ट्रम्पले जेलेन्स्कीसँग युद्ध अन्त्यका लागि धेरै विकल्प भए पनि उनले शान्ति सम्झौतातर्फ कुनै चासो नदेखाएको दाबी गरे।
सम्झौताको पृष्ठभूमि : मध्यपूर्वको युद्ध र इन्धन संकट
यो सम्पूर्ण विवादको जड मध्यपूर्वमा चर्किएको सैन्य द्वन्द्वसँग जोडिएको छ। अमेरिका र इजरायलले इरानविरुद्ध छेडेको युद्धका कारण विश्वको मुख्य जलमार्ग होर्मुज जलडमरुमध्य ठप्पप्रायः बनेको छ, जहाँबाट विश्वको झन्डै पाँचौं भाग इन्धन ओसारपसार हुने गर्दथ्यो।
यसको प्रत्यक्ष असर अमेरिकी बजारमा परेपछि मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा महँगी नियन्त्रण गर्न ट्रम्पले आगामी अप्रिल ७ सम्मका लागि रुसी डिजेल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेका हुन्।
सम्झौताअनुसार रुसले सुरुमा ३ लाख टन डिजेल अमेरिकी र विश्व बजारमा पठाउनेछ। त्यसपछि नोभेम्बरमा ५ लाख टन र त्यसलगत्तै थप ३० लाख टन डिजेल बजारमा ल्याइनेछ। अमेरिकामा हाल डिजेलको मूल्य प्रतिग्यालेन ६.२८ डलर पुगिसकेको छ, जुन गत वर्ष जम्मा ३.६८ डलर मात्र थियो।
जेलेन्स्कीको आपत्ति : “मस्कोलाई युद्ध लड्ने नयाँ बजेट”
अमेरिकी कदमप्रति कडा आपत्ति जनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी इन्धन प्रतिबन्ध हटाउनु भनेको राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि थप बमबारी गर्ने आर्थिक छुट दिनु सरह भएको टिप्पणी गरेका छन्।
जेलेन्स्कीका अनुसार अमेरिकाबाट प्राप्त हुने अर्बौं डलरले रुसलाई नयाँ सैन्य हतियार खरिद गरी युक्रेनी सहरहरूमा आक्रमण तीव्र पार्ने अवसर दिनेछ। हालै जापोरिज्जियामा भएको घातक आक्रमणलाई उल्लेख गर्दै उनले मस्कोले यो सम्झौतालाई “युद्ध जारी राख्ने हरियो झन्डा”का रूपमा लिएको आरोप लगाए।
अन्तर्राष्ट्रिय प्रतिक्रिया : विभाजित विश्व राजनीति
रुसको खुसी: रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रिभले ट्रम्पको भनाइलाई “ऐतिहासिक” भन्दै स्वागत गरेका छन्। उनका अनुसार युक्रेनलाई अब वास्तविक रूपमै शान्तिप्रति प्रतिबद्ध नेतृत्व चाहिएको छ।
बेलायतको एकजुटता: बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्दै पूर्ण एकजुटता जनाएका छन्। दुवै नेताले रुसलाई तत्काल “ऊर्जा युद्धविराम” गर्न र कालो सागरमा हुने व्यापारिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरेका छन्।
युरोपेली युनियनको कडा अडान: इयुकी विदेश नीति प्रमुख काजा कालासले अमेरिकाको निर्णयप्रति असन्तुष्टि जनाउँदै भनिन्, “रुसमाथिको दबाब घटाउने यो सही समय होइन। युरोपले रुसविरुद्ध अहिलेसम्मकै ठूलो प्रतिबन्धको प्याकेज ल्याउँदैछ।”
युक्रेनको राजनीतिक भविष्य र संकटकाल
सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता युक्रेनमा संकटकाल (मार्सल ल) लागू छ। कानुनी प्रावधानअनुसार संकटकाल जारी रहुन्जेल देशमा कुनै पनि निर्वाचन गराउन पाइँदैन।
यद्यपि, ट्रम्पले गत डिसेम्बरदेखि नै युक्रेनमा नयाँ चुनाव गराइनुपर्ने र जनताले नयाँ राष्ट्रपति छान्ने अवसर पाउनुपर्ने भन्दै दबाब बढाउँदै आएका छन्। रुसी आक्रमणबाट जोगिन संघर्ष गरिरहेको युक्रेनका लागि मित्रराष्ट्र अमेरिकाको यो पछिल्लो कूटनीतिक दबाबले किभको राजनीतिक भविष्यलाई थप अनिश्चिततातर्फ धकेलिदिएको छ।
