बाँचुन्जेलसम्म वैरीसँग झुक्दिन, यो देशका लागि निरन्तर लडिरहन्छुः केपी ओली
काठमाडौं, २५ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैरीसँग नझुक्ने दाबी गर्नुभएको छ । नेकपा (एमाले) सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागर अभियान तथा अगुवा कार्यकर्ता भेला’ लाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।
‘भिष्म पिताम्हलाई इच्छामरण थियो, किन बुढाले इच्छामरणमा मर्न चाहे म बुझ्दिन,’ उहाँले भन्नुभयो, ‘मचाँहि मर्ने इच्छा गर्दैगर्दिन । जुन दिन मरिन्छ, मरिन्छ । बाँचुन्जेलसम्म बैरीसँग झुकिन्न । यो देशका लागि लडिन्छ । मलाई के हुन्छ भन्ने मलाई केही चिन्ता छैन । किनभने मैले मेरालागि कामै गरेको होइन । सधैँ मैले देशका लागि काम गरेको छु, जनतका लागि काम गरेको छु, प्रजातन्त्रका लागि गरेको छु। सुशासनका लागि गरेको छु । विश्वशान्तिका लागि गरेको छु । विश्वमञ्चहरुमा मैले आवाज उठाएको छु । मलाई लाग्छ हाम्रो बाटो सत्यको बाटो हो, न्यायको बाटो हो, मानवताको बाटो हो । त्यसकारण यो विजयी हुन्छ ।’

नजिक आएर छुरी हान्ने पनि देखेको छु
ओलीले आफ्नै भनिनेहरुबाट धोका पाएको पनि गुनासो गर्नुभयो । ‘ यसो हेर्यो आफ्नै साथी जस्तो लाग्छ, नजिकै आउँछ, कमरेड भन्छ–ग्याम्मैँ छुरी हान्छ, यो पनि देखियो,’ उहाँले भन्नुभयो, ‘मैले अलिक अस्तिको भेलामा पनि भनेको थिएँ । भिष्म पिताम्मह शैयामा ढलेका थिए । तर, म त्यति बुढो भैसकेको छैन, म ढलेको छैँन, ढल्दिन, जति हाने पनि ढल्दिन । मैले ५७ वर्ष अघि राजतन्त्र हटाइन्छ, पञ्चायत फालिन्छ भनेर त्यतिबेला क्रान्तिकारी आन्दोलन थालेको थिएँ । त्यतिबेला पञ्चाय ढाल्ने, राजतन्त्र हटाउने र पछि समाजवादमा पुग्ने भन्ने लक्ष्य थियो । म ज्यूँदो हुदाँहुँदै राजतन्त्र ढालिएको छ ।’
ओलीले आफ्नै पालमा पञ्चायत फालिएको भन्दै त्यसका लागि मूल्य चुकाउनु परेको स्मरण गर्नुभयो । त्यसैका लागि जेल बस्नु परेको पनि स्मरण गराउनुभयो । ‘झुटा मुद्धा, झुटा आरोप खेप्नु परेको हो । त्यतिबेला मलाई राज्यले ज्यानमा, डाका जस्ता झुटा मुद्धा बोकाएको थियो । १४ वर्ष म कुनै राजनीतिक बन्दी भएर बस्न पाएको थिइँन । मलाई राज्यले त्यतिबेला झुटा मुद्धा लगाएर ज्यानमारा भएर, डाका भए बस्नु परेको थियो । गोलघरमा हालेको थियो, हतकडी लगाएरको थियो,’ उहाँले भन्नुभयो ।
हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो

ओलीले पार्टीको विरोध गर्नेहरुमाथि आक्रोस व्यक्त गर्नुभयो । ‘हामी देख्छौँ केही मानिसको व्यवसाय नै के छ भने पार्टीको विरोध गर्ने । पार्टीको विरोध गर्यो अर्ती–उपदेश दियो । ती कुरा छाडिदिऔँ, हामी सचेत बन्नुपर्छ । नेपाली जनतालाई सचेत पर्ने पार्टी नेकपा (एमाले) हो । त्यसैले नेकपा (एमाले) सबै भन्दा बढी सचेत हुनुपर्छ । जनतलाई जातका नाममा, धर्मका नाममा विभाजित गर्न खोजिएको छ,’ उहाँले भन्नुभयो, ‘कहिले भूगोलका नाममा गर्न खोजियो । अहिले बाउ, छोरा, हजुरबा, नातीको मारामार लगाएर हैरान छ । छोराले बाउलाई भन्न थाल्यो– ‘क्याम्पसमा के पढाउँछौँ बुढा ! छाडिदेउ, हस्तान्तरण गर्नु परेन ? अब म पढाउँन जान्छु ।’ ए बाबा ! पहिला पढि त सक क्याम्पस । ए बाबा ! मैले पनि त बढेको १५ वर्ष भयो नि मलाई पनि चाहियो प्राध्यापक, यी बुढाहरुले कति प्राध्यापक भएर धानिरहेको ? हामीलाई दिदैँ दिदैँनन् ।’
उहाँले हस्तान्तरण, पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया भएको भन्दै त्यो नचाहेर पनि हुने उल्लेख गर्नुभयो । ‘तर, त्यसको सिलसिला हुन्छ । एकैचोटी प्राध्यापक बनिन्न । योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिदैँ जाने हो । अलिकति समय लाग्छ ।’
म २० वर्षमा समूहको नेता भैसकेको थिएँ

ओलीले ०२८ साल फागुनमा म २० वर्ष पुग्दै गर्दादेखि आन्दोलनमा सक्रिय भएको पनि स्मरण गराउनुभयो । ‘तर, त्यो भन्दा पहिला नै म नेपालमा क्रान्ति गर्ने समूहको नेता थिएँ । मलाई हटाए पनि सीपीको उमेर पनि २० वर्ष नै थियो । उनी २० वर्षको उमेरमा पार्टी प्रमुख भएका थिए । पुष्पलालले २००६ सालमा पार्टी थाल्दा उनको उमेर २४ वर्ष मात्रै थियो । पुष्पलालले २४ वर्षमा पार्टी खोलेका थिए अब म पनि २४ वर्षमा खोल्छु भनेर हुन्छ ? यो त पनाती पुस्ता भयो,’ ओलीले भन्नुभयो, ‘अहिले ७६ वर्ष काम गरेका मान्छे छन् । त्यसैले पहिलाको जस्तो होइन । त्यतिबेला २० वर्षमा भएको भनेर अहिले पनि म २० वर्षको भएँ हुनुपर्छ भन्यो भने त्यो हाँस्यास्पद हुन्छ । अहिले हजुरबा, बा, काका पुस्ता सक्रिय छ, काम गरिरहेको छ । त्यसकारण त्यो आन्दोलन र अहिलेको आन्दोलन फरक छ ।’
देशमा जागर अभियान आवश्यक
ओलीले एमालेले अहिले देशमा जागरण अभियान चलाइरहेको पनि बताउनुभयो । ‘पहिला भन्दा अहिले जागरण अभियान बढी आवश्यकता भएकाले हामीले यो अभियान चलाएका हौँ । जनता अलमलिए, कागले कान लग्यो भन्दा त्यतै कुद्ने जस्तो अवस्थामा रहेछन्,’ उहाँले भन्नुभयो, ‘ त्यसैले उनीहरुलाई सचेत गराउन पनि एमालेले जागरण अभियान चलाउन आवश्यक ठानेको हो ।’
के काम गरेर लोकप्रिय भयो ?

ओलीले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुदन गुरुङप्रति लक्षित गर्दै भन्नुभयो– ‘के काम गरेर लोकप्रिय भयो ? कुन विचारले लोकप्रिय भयो ? के काम, योगदान, बलिदान गरेर लोकप्रिय भयो ? कुनै एक अनाथ बालबालिकालाई पढाएर लोकप्रिय भएको हो ? राज्यको सम्पत्तिमा आगो लगाएर मान्छे लोकप्रिय हुन्छ ? विश्वमा मैले थाहा नपाएको कुरो हो यो ।’
उहाँले नीजि सम्पत्तिहरु, व्यवसायिक प्रतिष्ठान, सञ्चारमाध्ययमका कार्यालयहरु जलाएर कोही लोकप्रिय हुन्छ भन्ने कुरा थाहा नपाएको उल्लेख गर्नुभयो । ‘विवेकहीन ढंगले अर्काको घरमा पसेर, लुटेर हिँड्ने त्यस्तो घटिया मान्छे नेपाली हुन्छ र ? तर, त्यस्तै मान्छे लोकप्रिय ठहरिए,’ उहाँले भन्नुभयो, ‘म ज्युँदै छु भनेर मात्रै हुँदैन । व्वासाँले मारेर होइन खाँदैखाँदै मार्छ । यो देश त त्यस्तै हुनेभयो ।’
बुढीगण्डकीबारे ओली
उहाँले आजफेरि बुढी गण्डकीमा बाढी आएर अर्को विपत्ति आइलागेको भन्द धेरै घर बगाएको केही व्यक्ति व्यपत्ता हुनुभएको उल्लेख गर्नुभयो । ‘ यो क्षतिमा पार्टीका तर्फबाट दुख व्यक्त गर्न चाहन्छु । यस विपद्को घडीमा उद्धार, राहत कार्यमा जुट्न र आगामी दिनमा पुर्नस्थापान, पुर्नर्निमाण कार्यमा जुट पनि सरकारलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘सरकारले भोटेकासीमा बाढी जाँदा हेलिकप्टर नियन्त्रण गर्ने, दुरुपयोग गर्ने काम गरेको थियो । राहत, उद्दारका कार्य समयमा भएको थिएन । त्यो घटना यहाँ नदोहोरियोस भन्न चाहन्छु । सरकारले फराकिलो मन, पराकिलो पनका साथ उद्दार कार्यमा अघि बढोस् । सरकारी हेलिकप्टर कुनै संस्थाको नीजि जस्तो दुरुपयोग भयो । बैदेशिक सहयोगको उचित व्यवस्थापन भएन । ’कार्यक्रममा स्थायी कमिटी सदस्य लालबाबु पण्डित, कमिटीका अध्यक्ष अशोककुमार ठकुरी, सचिव कपिलदेव ओली लगायतले पनि संगठनलाई थप बलियो बनाएर अघि बढाउन जागर अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
