झेङ छिनवेन बनिन् चाइना ओपन जित्ने पहिलो चिनियाँ महिला खेलाडी
घरेलु समर्थकमाझ झेङको ऐतिहासिक जित, चाइना ओपन जित्ने पहिलो चिनियाँ महिला बनिन्
बेइजिङ — चीनकी झेङ छिनवेनले रुसकी मिरा आन्द्रीभालाई सोझो सेटमा पराजित गर्दै चाइना ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन्। यससँगै उनी चाइना ओपनको महिला एकल उपाधि जित्ने पहिलो चिनियाँ महिला खेलाडी बनेकी छन्।
विश्व वरीयतामा ५४औँ स्थानमा रहेकी झेङले वाइल्डकार्डमार्फत प्रतियोगितामा प्रवेश गरेकी थिइन्। आइतबार भएको फाइनलमा उनले चौथो वरीयताकी १९ वर्षीया आन्द्रीभालाई ७–५, ६–४ को सेटमा हराउँदै उपाधि जितेकी हुन्।
पहिलो सेटमा झेङले तीन सेट प्वाइन्ट बचाउँदै पुनरागमन गरिन्। आन्द्रीभाले दुवै सेटको सुरुआतमा २–० को अग्रता बनाएकी थिइन्। पहिलो सेटमा उनी ५–४ ले अगाडि रहे पनि झेङले लगातार ११ अङ्क जित्दै सेट आफ्नो पक्षमा पारिन्।
दोस्रो सेटमा पनि ४–४ को बराबरीसम्म प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। त्यसपछि झेङले खेलमा नियन्त्रण कायम गर्दै एस प्रहारमार्फत जित सुनिश्चित गरिन्। निर्णायक अङ्क हासिल गरेपछि उनी कोर्टमै ढलेकी थिइन्। खेलपछि उनले उपस्थित घरेलु समर्थकमाझ गीत गाएर खुसीसमेत साटिन्।
‘बेइजिङमा आफ्नै घरेलु समर्थकका अगाडि उपाधि जित्नु मेरा सपनामध्ये एक थियो। यो अनुभूति अविश्वसनीय छ,’ झेङले भनिन्, ‘मैले निकै कठिन वर्ष बिताएकी छु।’
गत वर्ष कुहिनोको शल्यक्रिया गराएकी २४ वर्षीया झेङका लागि यो पहिलो डब्लूटीए १००० उपाधि हो। समग्रमा उनको यो छैटौँ उपाधि हो। पछिल्लो दुई वर्षदेखि उपाधिविहीन रहेकी उनले चोट र खराब लयका कारण सामना गर्नुपरेका चुनौतीबीच यो सफलता हासिल गरेकी हुन्।
‘चोटबाट फर्किएपछि प्रतिस्पर्धा गर्नै बिर्सिएजस्तो लागेको थियो,’ उनले पत्रकारहरूसँग भनिन्, ‘धेरै हारपछि अन्ततः मैले आफ्नो जोस फेरि भेट्टाएकी छु।’
यो जितसँगै झेङले शीर्ष १० वरीयताका खेलाडीविरुद्ध १४औँ जित दर्ता गरेकी छन्। यस सिजन शीर्ष १० भित्रका खेलाडीमाथि उनको यो तेस्रो जित हो।
चाइना ओपनको उपाधि जितेपछि झेङ विश्व वरीयतामा ३१ स्थान सुधार गर्दै २३औँ स्थानमा उक्लिने अपेक्षा गरिएको छ। पराजित भए पनि आन्द्रीभा भने सोमबार सार्वजनिक हुने नयाँ वरीयतामा तेस्रो स्थानमा पुग्ने अनुमान छ।
झेङले मंगलबारदेखि सुरु हुने वुहान ओपनमा प्रतिस्पर्धा गर्नेछिन्। आगामी प्रतियोगिताप्रति उत्साहित देखिएकी उनले भनिन्, ‘आगामी दिनमा के हुन्छ भन्नेबारे म निकै उत्साहित छु। म आफ्नो तर्फबाट सबै दिन चाहन्छु।’
