भसभसेमा सडक भासिँदा यातायात प्रभावित, घण्टौँ जाम खेप्दै यात्रु
म्याग्दी, २६ असोज । बेनी नगरपालिका–२ स्थित भसभसेमा सडक भासिने र दबिने क्रम नरोकिँदा म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सञ्चालन गर्न समस्या भएको छ। साँघुरो र हिलाम्मे सडकमा सवारीसाधन फस्ने तथा घण्टौँ जाम हुने गर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीले कटान गर्दा सडक भासिएको हो। सडकको केही भाग बगेपछि सवारी आवागमन जोखिमपूर्ण बनेको छ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीले बगाएपछि वैकल्पिक मार्गका रूपमा बागलुङ–बेनी–मालढुङ्गा सडक प्रयोग भइरहेको छ। मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम पूर्व–पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौँ आवतजावत गर्ने सवारीसाधनसमेत यही सडकमा निर्भर छन्। यसले सडकमा सवारीसाधनको चाप बढाएको छ।
बेनी नगरपालिका–२ खबराका कमल सुवेदीका अनुसार सडक दबिएको स्थानमा गाडी हिलोमा फस्ने, उकालो चढ्न नसक्ने र लामो समयसम्म जाम हुने समस्या छ। सडक साँघुरो भएकाले दुर्घटनाको जोखिम पनि बढेको उहाँले बताउनुभयो।
“नदी कटान र पहिरोका कारण करिब एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबिएको छ,” उहाँले भन्नुभयो, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ।”
आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरो क्षेत्रमा भूमिगत पानी व्यवस्थापन र हिलो भएको सडकमा ढलान गरेको थियो। तर, अहिले उक्त ढलान गरिएको सडकसमेत भासिएको छ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सडक डिभिजन कार्यालयले मर्मत तथा उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समस्या समाधान हुन नसकेको बताउनुभयो।
“सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तै अवस्था हुन्छ,” उहाँले भन्नुभयो, “सडक भासिने र दबिने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ।”
भसभसे पहिरोका कारण खबराबस्तीसमेत जोखिममा परेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खालसहित तटबन्ध निर्माण गर्ने तथा पहिरोग्रस्त क्षेत्रमा सडकको सतह मिलाएर पक्की बनाउने विषयमा सडक डिभिजन कार्यालयमार्फत पहल भइरहेको कार्यवाहक प्रमुख खत्रीले जानकारी दिनुभयो।
