वर्षा र पहिरोले बाजुराकाे साँफे–मार्तडी सडक अवरुद्ध, ३२ खम्बा ढल्दा जिल्लाभर विद्युत् ठप्प

बाजुरा, २२ भदौ । शनिबार रातिदेखि परेको अविरल वर्षा र विभिन्न स्थानमा गएको पहिरोका कारण बाजुरा जिल्लाको जनजीवन प्रभावित भएको छ। पहिरोले मुख्य सडक र राष्ट्रिय प्रसारण लाइन अवरुद्ध पारेपछि सदरमुकाम मार्तडीसहित सिङ्गो जिल्ला सञ्चार, यातायात र ऊर्जाको पहुँचबाट प्रभावित भएको छ।

पहिरोका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा ठूलो पहिरो खस्दा साँफे–मार्तडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। दुई दिनदेखि सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरू रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार आइतबारदेखि नै जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिए पनि वर्षाका कारण अवरोध सिर्जना भएको थियो। आज सोमबार बिहानैदेखि सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर प्रयोग गरी सडक खुलाउने कार्य भइरहेको छ।

यसैगरी, बडीमालिका नगरपालिका–९ सुवाकाँध र वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा (पोल) ढालेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सातवटा र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन्। अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म जोडिएको ३३ केभी राष्ट्रिय प्रसारण लाइन बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालयहरूको दैनिक सेवा प्रवाह र सञ्चार क्षेत्र ठप्प भएको छ।

अवरुद्ध विद्युत् र सडक सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिनुभएको स्थानीय प्रशासनले जनाएको छ। बडीमालिका–८ र ९ का विभिन्न स्थानमा आइतबार पहिरो खस्दा दुईवटा घर, चारवटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राप्का क्षेत्रबाट सडक विभागका दुईवटा मेसिन प्रयोग गरी सडक मर्मत भइरहेको जानकारी दिनुभयो। यस्तै, विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राधिकरणका प्राविधिक टोलीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको टोली फिल्डमा खटिएको छ।