तीन हजार ६०० मिटर उचाइको भलिबल प्रतियोगिताको उपाधि कर्णाली युथलाई

भलिबल प्रतियोगिता

काठमाडौँ, कार्तिक ९ । हुम्लाको तीन हजार ६०० मिटर उचाइमा आयोजित जिल्लास्तरीय लेकधिङ्घा हाइअल्टिच्युड भलिबल प्रतियोगिताको उपाधि सिमकोट गाउँपालिका ७ स्थित कर्णाली युथ क्लबले जितेको छ। फाइनलमा सेकेन्ड स्टार युथ क्लबलाई पराजित गर्दै कर्णाली युथले उपाधि हात पारेको हो ।

हुम्ला जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको खेलमैदानमा आयोजित प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कर्णाली युथ क्लब प्रथम, सेकेन्ड स्टार युथ क्लब द्वितीय र नाम्खा गाउँपालिका–१ को हेक्पा आइस तृतीय भएको आयोजक समितिका निमा लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः एक लाख रुपियाँ, ७० हजार रुपियाँ र ४० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता टोलीलाई नगद पुरस्कारसँगै मेडल, ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

नाम्खा गाउँपालिकाको आर्थिक सहयोग तथा लेकधिङ्घा हाइअल्टिच्युड आयोजक समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

उच्च हिमाली क्षेत्रमा प्रतियोगिता आयोजना हुनुले हुम्लामा खेलकुद गतिविधि विस्तार गर्न, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्न र खेल पर्यटनको सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *