एनपीएलमा आज दुई खेल, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

काठमाडौँ, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। बिहान चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दा साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो दिन एक खेल मात्रै भएको प्रतियोगितामा दोस्रो दिनदेखि दुई खेल हुन लागेका हुन्।

आजको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंका लगायतका खेलाडी छन्।

चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली र उसामा मीरलगायतका खेलाडी समावेश छन्।

आज साँझ हुने दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सको सामना गर्नेछ। जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, अनिल साह, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदलगायतका खेलाडी छन्।

कर्णालीको टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, सूर्य तामाङ र दिवान पुनलगायतका खेलाडी समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *