दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजारभन्दा बढी पर्यटक
अन्नपूर्ण चक्रीय पदमार्ग
काठमाडौँ, कार्तिक १० । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन झन्डै दोब्बरले बढेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म पाँच हजार ३८४ पर्यटक पदमार्गमा आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा दुई हजार ६२७ पर्यटक बढी आएका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले क्षति पुर्याएपछि आवागमन प्रभावित हुँदा त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका छन् । अनुकूल मौसम र पछिल्लो समय मानिसमा घुमफिर गर्ने प्रवृत्ति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उहाँले बताउनुभयो ।
केन्द्रको तथ्याङ्कअनुसार दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । त्यस्तै, सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन् ।
यस अवधिमा सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन् । त्यसैगरी जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटकले पदयात्रा गरेका छन् ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती तथा स्थानीय संस्कृति अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय मानिन्छ ।
