भोटेकोशी बाढीमा बेपत्ता आफन्तको डीएनए रिपोर्ट कुर्दै बित्यो दसैँ
बाँके, १० कात्तिक । भोटेकोशी बाढीमा बेपत्ता आफन्तको अत्तोपत्तो नलागेपछि बाँकेका प्रभावित परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन्। बाढी गएको दुई महिना पुग्दा पनि आफन्तको अवस्था यकिन हुन नसक्दा परिवारजन शोक, अन्योल र पीडामा छन्।
नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवाका अनलाल रोकायका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय गत भदौ १० गतेको बाढीमा बेपत्ता भएका थिए।
“बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन। यो वर्षको दसैँ डीएनए परीक्षण रिपोर्टको पर्खाइमा बिताउन बाध्य भएका छौँ,” अनलालले भने। सास वा लास केही फेला नपर्दा सामाजिक संस्कारसमेत गर्न नसकेको उनले बताए।
एक्लो छोरा, दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि परिवारमा पीडा थपिएको उनको भनाइ छ। बेपत्ता आफन्तको शव पहिचान हुने आशामा उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका छन्। तर, रिपोर्ट नआउँदा परिवार अन्योलमा छ।
“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ। डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा मात्रै बाँकी छ,” उनले भने। सरकारले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिबारे आधिकारिक जानकारी दिनुपर्ने उनको माग छ। बेपत्ता भएको आधिकारिक घोषणा भएपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएको उनले बताए।
रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा बेपत्ता भएका छन्। उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा छन्। सुभासका अनुसार उनीहरू पनि डीएनए परीक्षणको रिपोर्टको प्रतीक्षामा छन्।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले पीडित परिवारलाई सान्त्वना दिँदै आएको बताए। बेपत्ताको खोजी जारी राख्न तथा सहाराविहीन बनेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय तथा सहयोग भइरहेको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरका अनुसार भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पहिचानका लागि बाँकेका १६ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ। केही आफन्तले चितवन र काठमाडौँका अस्पतालमा पनि नमुना दिएका छन्। सङ्कलित नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।
