मौलिकताको आँगनमा पर्यटनको पाइला : सिङ्दी गाउँ

२०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा

काठमाडौँ, असोज १३ ।  ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैलीले लमजुङको क्व्होलासोथार गाउँपालिका ५ स्थित सिङ्दी गाउँको मौलिक पहिचान झल्काउँछन् । चारैतिर हरियाली पहाड र शान्त वातावरणले घेरिएको सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको सिङ्दीमा वि. सं २०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको हो। होमस्टे औपचारिक रूपमा भने विसं २०८१ मा दर्ता गरिएको हो। गाउँका २३५ घरमध्ये हाल १८ घरमा घरबास सञ्चालनमा छन्।

सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङका अनुसार यहाँ आउने पर्यटक प्रायः एकरात बस्ने गरेका छन्। समूह बनाएर सवारीसाधन रिजर्भ गरी आउने पर्यटकको रोजाइमा सिङ्दी पर्न थालेको र नियमित रूपमा पर्यटक नआए पनि मासिक करिब १०० जनासम्म आउने गरेको उहाँले बताउनुभयो।

“पहिला पर्यटक खासै आउँदैनथे। गुरुङ सम्पदा पदमार्गसँग जोडिएपछि विस्तारै पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी कलेजका युवा तथा विभिन्न समूह बनाएर आउने पर्यटकको सङ्ख्या बढिरहेको छ।”

गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिङ्दीमा पर्यटकका लागि घाँटु, सोरठी र कृष्णचरित्रजस्ता मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिएको छ। गुम्बा तथा देवीस्थान मन्दिर यहाँका धार्मिक तथा सांस्कृतिक आकर्षण हुन्। होमस्टेमा स्थानीय उत्पादनबाट तयार गरिएका चामल, कोदो, सागसब्जी, लोकल कुखुरालगायतका परिकारलाई प्राथमिकता दिइन्छ। एकरात बसाइको प्याकेजका लागि प्रतिव्यक्ति रु एक हजार १०० शुल्क लिने गरिएको अध्यक्ष गुरुङले बताउनुभयो।

सिङ्दीको पर्यटकीय सम्भावना होमस्टेमा मात्र सीमित छैन। गाउँ गुरुङ सम्पदा पदमार्गसँग जोडिएको छ। कास्कीको ताङतिङ हुँदै क्रपु डाँडा, लमजुङका विभिन्न गुरुङ बस्ती पार गरी मनाङको तिमाङसम्म पुग्ने पदमार्गमा सिङ्दी पनि समेटिएको छ।

पुरानो पैदल तथा व्यापारिक मार्ग, भेडीगोठ र खर्कलाई पर्यटनसँग जोड्ने उक्त पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लुलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।

सिङ्दीबाट कास्कीको मादी गाउँपालिका–२ स्थित क्रपु डाँडातर्फ पदमार्ग जोड्ने काम भइरहेको छ। सो क्रममा करिब एक हजार ३०० मिटर सिँढी निर्माण भइसकेको र बाँकी पदमार्गलाई व्यवस्थित गर्ने काम अघि बढाइएको छ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँपालिकाले सिङ्दीको पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग विकासलाई प्राथमिकता दिएको छ। स्थानीय उत्पादनबाट अचारलगायत वस्तु तयार गर्ने, पर्यटनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने तथा खेलकुद, सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारका गतिविधिलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुम्बा, प्रवेशद्वारलगायत संरचना निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पर्यटनको विकाससँगै गाउँको सामाजिक जीवनमा समेत परिवर्तन आउन थालेको स्थानीयको अनुभव छ। स्थानीय ६६ वर्षीय योगप्रसाद गुरुङका अनुसार होमस्टे सञ्चालनपछि घरआँगनको सरसफाइ र घर व्यवस्थापनमा स्थानीयको ध्यान बढेको छ। यससँगै आम्दानीको स्रोत थपिनुका साथै गाउँको प्रचारप्रसारसमेत बढेको उहाँले बताउनुभयो ।

“पहिला खेतीपातीमै बढी निर्भर हुनुपथ्र्यो। गाउँ पनि धेरै चिनिएको थिएन। अहिले होमस्टे सञ्चालन भएपछि आम्दानीको स्रोत थपिएको छ, पर्यटक आउन थालेपछि गाउँको प्रचारप्रसार पनि भएको छ”, उहाँले भन्नुभयो ।

सडक तथा पदमार्गको पहुँच विस्तार, होमस्टे सञ्चालन, स्थानीय सीप विकास र सांस्कृतिक गतिविधिका कारण सिङ्दी गाउँ ग्रामीण पर्यटनको नयाँ गन्तव्यका रूपमा परिचित हुन थालेको छ। आधुनिक सुविधा विस्तारसँगै पुस्तौँदेखि जोगिँदै आएको संस्कार, संस्कृति, खानपान र ग्रामीण जीवनशैलीको संरक्षण गर्न सके सिङ्दीले आफ्नो मौलिक पहिचान कायम राख्दै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *